३२ अंकले बढ्याे नेप्से, साढे एक अर्बकाे सेयर किनबेच

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज बिहीबार ३२.३० अंकले बढेको छ । बिहीबार नेप्से सूचक बढेर १८७७.३२ विन्दुमा पुगेको छ । यसरी नेप्से बढ्दा २४ दिन यताकै उच्च कारोबार भएको छ । आज ४४ लाख २२ हजार कित्ता सेयर किबबेच हुँदा एक अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमले आठ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा हिमालयन उर्जा विकास कम्पनी र आत्मानिर्भर लघुवित्त वित्तिय संस्था रहेको छ । हिमालय उर्जाको सेयर मूल्यमा सर्किट लागेर सेयरधनीले प्रतिकित्ता २५.६० रुपैयाँ कमाएका छन् । यस्तै, आत्मानिर्भर लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९३.३० रुपैयाँ वृद्धि भएको छ ।

माइखोला हाइड्रोको अध्यक्षमा श्रीजेश गुरागाईं नियुक्त

काठमाडौं । माइ खोला हाइड्रोपावर कम्पनीको अध्यक्षमा श्रीजेश गुरागाईं नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले गुरागाईंलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । श्रीजेश गुरागाईं यसअघि कम्पनीको सञ्चालक थिए । यसअघि कम्पनीको अध्यक्ष रहेका शैलेन्द्र गुरागाईंले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले जानकारी दिए । कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाइ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ३१ असार २०७७ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजना सम्पन्न हुँदाको कूल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । हाल कम्पनीको अधिकृत पूँजी ४० करोड रुपैयाँ, जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।

एक लघुवित्तले जम्मा गर्यो २० प्रतिशत बोनस डिम्याट खातामा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत चैत ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । मंगलबार लघुवित्तको २० प्रतिशत बोनस वापतको २ लाख ४३ हजार ५६४.३० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लघुवित्तले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बैंशाख २ गतेदेखि बोनस जम्मा गरेको बताएको छ । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।