घोराही सिमेन्टको आईपीओ : विदेशमा रहेका नेपालीले आवेदन दिने अन्तिम दिन, स्थानियलाई म्याद थप
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले बैशाख १९ गतेदेखि प्रिमियममा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज जेठ २ गते अन्तिम दिन रहेको छ । यस्तै, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओमा आवेदन दिने समय जेठ १७ गतेसम्म थप गरिएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६ सय रुपैयाँको २० प्रतिशत अर्थात् ७९ करोड ४३ लाख ८० हजार १ सय रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले ३ करोड ९७ लाख १९ हजार रुपैयाँको प्रतिकित्ता ४ सय रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७ करोड ५४ लाख ६६ हजार १ सय रुपैयाँ बराबरको प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अधिकतम सम्पूर्ण सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानिय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एसबिआई बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक, ज्योति विकास बैंक र घोराही सिमेन्ट इण्डष्ट्रीबाट आवेदन दिन सक्नेछन् । साथै, कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
युनिक नेपाल लघुवित्तले जेठ ११ गतेदेखि एफपीओ बिक्री गर्ने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले जेठ ११ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय अंकित मूल्य दरका ३ लाख ७९ हजार ४२५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । साविकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको संस्थाको कुल चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपैयाँको ९४.०१ प्रतिशले हुन आउने संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५ सय रुपैयाँ र ५.९९ प्रतिशले हुन आउने सर्वसाधारण समूहको ६६ लाख ३० हजार रकम बराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम बिक्री खुला गरेको लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्तासम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
एक हजार ८१८ विन्दुमा नेपाल स्टक एक्सचेन्ज
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता सेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार नौ सय ८० बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूह १० दशमलव ५५, वित्त समूह एक दशमलव ११, उत्पादन तथा प्रशोधन समूह २२ दशमलव ७० र लघुवित्त समूह १० दशमलव ८० अङ्कले बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ५१ दशमलव ७७ र होटल तथा पर्यटन समूहको उपसूचक १६ दशमलव ६४ अङ्कले घटेको छ । बैंकिङ समूह तीन दशमलव ७०, जलविद्युत् समूह पाँच दशमलव ३४, लगानी समूह शून्य दशमलव ०६, जीवन बीमा समूह आठ दशमलव ४७, म्युचुअल फन्ड शून्य दशमलव ०५, व्यापार समूह छ दशमलव ९४ र अन्य समूह सात दशमलव ४५ अङ्कले घटेको छ । नेपाल इन्भेस्टमेन्ट बैंक ग्रोथ फन्डको सेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ भने सबैभन्दा धेरै घट्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा छ दशमलव ४५ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको तीन करोड चार लाख ६७ हजार बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंकको एक लाख ३९ हजार छ सय ३० कित्ता सेयर किनबेच भएको छ ।