आईपीओमा बढ्यो जोखिम, ठगिन सक्छन् सर्वसाधारण

<p>काठमाडौं । शिवम् सिमेन्टले ५ वर्षअघि प्रतिकित्ता १ सयमा २ सय रुपैयाँ प्रिमियम थप गरी ३ सय रुपैयाँमा सेयर बिक्री गर्यो । पछिल्लो समय कम्पनीको सेयर मूल्य घटेर न्यूनतम ३८९ रुपैयाँसम्म झरेको छ । झण्डै आईपीओको मूल्यमै पुग्न लागेको यस कम्पनीको सेयर अहिले बढेर प्रतिकित्ता ४ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । हिमाल दोलखा [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्टले ५ वर्षअघि प्रतिकित्ता १ सयमा २ सय रुपैयाँ प्रिमियम थप गरी ३ सय रुपैयाँमा सेयर बिक्री गर्यो । पछिल्लो समय कम्पनीको सेयर मूल्य घटेर न्यूनतम ३८९ रुपैयाँसम्म झरेको छ । झण्डै आईपीओको मूल्यमै पुग्न लागेको यस कम्पनीको सेयर अहिले बढेर प्रतिकित्ता ४ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनीले ३ वर्षअघि सर्वसाधारणलाई सेयर अंकित मूल्यमै सेयर जारी गर्याे । पछिल्लो पटक कम्पनीको सेयर प्रतिकित्ता १५८ रुपैयाँमा कारोबार भएको नेप्सेको तथ्याङ्कमा उल्लेख छ । यो कम्पनी पनि झण्डै आईपीओको मूल्यमा नै झर्न थालेको देखिन्छ ।

आईपीओ निष्काशन प्रक्रियामा रहेका घोराही सिमेन्ट र नेपाल रिपब्लिकाको सेयर पनि विवादमा परेको छ । यी दुई कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ता जोखिममा रहेको सार्वजनिक गरिएको वित्तीय विवरणबाट पुष्टि हुने लगानीकर्ता बताउँछन् । घोराही सिमेन्टले अंकित मूल्यमा आयोजना प्रभावितलाई ३ सय रुपैयाँ र सर्वसाधारणलाई ३३५ रुपैयाँ प्रिमियम थप गरी ४ सय र ४३५ रुपैयाँमा आईपीओ बिक्री गरिरहेको छ । यस्तै, नेपाल रिपब्लिकाको सेयर भने अंकित मूल्यमा नै बिक्री गरिरहेको छ ।

यी माथिका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्यासँगै नयाँ कम्पनीको प्रवेश पनि बढ्दो छ । आईपीओमा लगानीकर्ता आकर्षित भइरहँदा चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा १६५ अर्ब ५६ करोड रुपैयाँ बराबरको आईपीओ पूँजी बजारमा आएको छ । अझै ६ अर्ब ५ करोड बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डको पाइप लाइनमा छ ।

पूँजी बजारले ३२ सय अंकको ऐतिहासिक रेकर्ड बनाएको बेला लगानीकर्ताको आकर्षण बढेको थियो । सो समयमा आईपीओ जारी गर्ने एउटै कम्पनीमा २५ लाखसम्म आवेदन परेको थियो । जसले लगानीकर्ताको उत्साहसँगै बजारमा नयाँ कम्पनी थप्न उत्प्रेरित गर्याे । तर, पछिल्लो समय एकपछि अर्काे कम्पनीको आईपीओ बजारमा आउन थालेपछि जोखिम पनि बढ्दै गएको लगानीकर्ताहरु बताउँछन् ।

सामान्यतया अंकित मूल्य १ सय रुपैयाँमै सेयर जारी गर्ने परिपाटी भएपनि पछिल्लो समय भने प्रिमियम मूल्यमा पनि आईपीओ निष्काशन गर्दा जोखिम बढ्दै गएको लगानीकर्ताहरुको बुझाइ छ । सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता कतिपय आफै जानेर आवेदन दिन्छन् भने कतिपय आफन्त वा साथीभाईको सल्लाहका आधारमा पनि आईपीओ भर्छन् ।

जोखिम कम र फाइदा बढी हुने हुँदा सर्वसाधारणको आकर्षण आईपीओमा देखिन्छ । तर, जोखिम भएका कम्पनीले पनि आईपीओ जारी गर्न थालेपछि जोखिम बढ्न थालेको एक लगानीकर्ताले विकासन्युजसँग बताए । नेपालको पूँजी बजारमा आईपीओमा जोखिम छैन भनिएपनि जोखिम रहेको उनको भनाइ छ । उनले घोराही सिमेन्टको सेयर बिक्री नभएर अण्डरराइटरले साकार गर्नु पर्ने अवस्था आउन सक्ने बताए । साथै, नागरिक दैनिकको सेयर बिक्री पनि अन्यौल रहेको उनको भनाइ छ ।

‘विदेशमा आईपीओमा पनि जोखिम हुन्छ, अब लगानीकर्ताहरुले आईपीओमा जोखिम देख्छन्, प्रिमियम मूल्यमा आईपीओ जारी भएपछि त झनै जोखिम हुन्छ, विदेशमा आईपीओ भन्दैमा हत्तपत खरिद गर्दैनन्, उनीहरुले विश्लेषण गरेर मात्रै आईपीओ भर्ने की नभर्ने भनेर निर्णय गर्छन्,’ उनले भने ।

लगानीकर्ता अम्बिर बोगटी नियामकले आईपीओ निष्काशन प्रक्रियामा कडाइ गर्नु पर्ने बताउँछन् । ५० रुपैयाँ पर्ने सेयरलाई १०० रुपैयाँमा बिक्री गर्दा १० कित्ता सेयर खेर फाले सरह भएको उनको भनाइ छ । नयाँ कम्पनीको आईपीओ आउने क्रम बढ्दो भएपनि बजारमा खरिदबिक्री गर्ने संख्या नरहेको उनले बताए ।

‘एकै जनाले सम्पूर्ण सेयर खरिद गर्न सक्दैन, स–साना टुक्रा भएर १० कित्ते नीतिले मात्रै सेयर बिक्री भइरहेको छ, एक÷एक हजारका दरले १ लाख जनाको १ करोड रुपैयाँ डुब्छ, १० लाखले भरेका छन् भने १ अर्ब रुपैयाँ डुब्छ, सेयर बजारमा दैनिक नयाँ कम्पनीको सेयर थप्ने काम मात्रै भएको छ,’ उनले भने, ‘यसरी सेयर थपिरहँदा खरिद गर्ने लगानीकर्ता भने बजारमा छैनन्, उत्पादन मात्रै गरेर हुँदैन, त्यो उत्पादनको खपत गर्ने मान्छे पनि बजारमा चाहिन्छ ।’

उनका अनुसार सिमेन्ट कम्पनीहरु सबै एकै पटक सञ्चालनमा आउँदा उत्पादन भएको वस्तु बिक्री नहुँदा समस्यामा परेका छन् । त्यस्तै, अवस्था अहिले सेयर बजारमा छ । सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको अभाव हुँदा बजारमा गिरावट आएको उनको भनाइ छ ।

‘बजारमा सेयरको आपूर्ति बढाउने काम निरन्तर भैरहेको छ भने अर्को तिरबाट खरिद गर्ने लगानीकर्तालाई निरुत्साहित गर्ने काम भइरहेको छ, फलस्वरुप आजभन्दा २० वर्ष अघि १ सय रुपैया मूल्यमा आईपीओ जारी गरेका कम्पनीको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल झरेको छ,’ उनले भने ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कमजोर अवस्थाका कम्पनी बजारमा आइरहेको बताए । अहिले ६०÷७० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई १ सय रुपैयाँमा जारी गर्दा कसैले पनि गुनासो नगरेको उनको भनाइ छ ।

‘६०/७० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई १ सय रुपैयाँमा जारी गर्दा कसैको पनि गुनासो छैन, यहाँ पनि अण्डरभ्यालूएसन गरेर ७० को भ्यालूएसनलाई १०० रुपैयाँमा जारी गर्दा ओभर भ्यालूएसन भइसक्यो, यो पनि सही होइन,’ उनले भने, ‘हामी (धितोपत्र बोर्ड)ले सबैलाई सही बनाउनु पर्नेछ, विगतमा एउटा आईपीओको फाइल स्वीकृत हुनका लागि २० महिना लाग्थ्यो तर, म आएपछि महिनामा ४ वटा भन्दा बढी फाइल स्वीकृत दिइरहेका छौं, यदि फाइल सही छ भने स्वीकृत दिने र सही छैन भने फिर्ता पठाउने काम भइरहेको छ ।’

लगानीकर्ता राजन लम्साल नेटवर्थ १ सय रुपैयाँ भन्दा कम भएका कम्पनीको आईपीओमा जोखिम रहेको बताउँछन् । पछिल्लो समय आईपीओ जारी गरिरहेका कुनै कम्पनीले ३० वर्षसम्म पनि प्रतिफल दिन नसक्ने अवस्था रहेको उनको भनाइ छ । यदि सर्वसाधारणले सेयर खरिद गरेनन् भने पनि अण्डरराइटर खरिद गर्न तयार हुन्छु भन्यो भने वित्तीय अवस्था कमजोर रहेका कम्पनीले आईपीओ बिक्री गर्नु स्वभाविक रहेको उनले बताए ।

‘३० वर्षको सम्झौता गर्दा पनि बिजुली बिक्री गरेर प्रतिफल दिनै नसक्ने कम्पनी आईपीओ बिक्री गरिरहेका छन्, ती कम्पनीहरुको लागत नै उच्च देखिन्छ, त्यसैले अब आईपीओमा लगानी गर्दा पनि कम्पनी छनोट गरेर मात्रै आवेदन दिनु पर्छ,’ उनले भने, ‘खरिद गर्ने ग्यारेन्टी छ भने हामी किन नबेच्ने भनेर ती कम्पनीले आईपीओ बिक्री गरिरहेका छन्, समग्रमा आईपीओमा लगानी गर्दा त्यति धेरै फाइदा भने छैन ।’

उनका अनुसार लगानीकर्ता आफै सचेत हुनु पर्ने बेला आएको छ । आईपीओ भन्दैमा अन्धाधुन्दा फाइदा हुन्छ भनेर लगानी गर्न नहुने उनको राय छ । पछिल्लो समय वित्तीय अवस्था कमजोर रहेका कम्पनीहरुले सेयर जारी गर्दा लगानी गर्नेको संख्या पनि घटेको उनले बताए ।

‘लगानी गर्नु पूर्व कस्तो कम्पनी हो ? कति प्रतिफल दिन सक्छ ? कहिलेबाट प्रतिफल दिन्छ ? जलविद्युत कम्पनी हो भने कति मेगावाटको हो ? संस्थापक सेयरधनी कस्ता छन् ? कति लागतमा बनेको छ ? र, पे ब्याक रिटर्न कहिलेसम्म छ ? हेरेर मात्रै लगानी गर्नु पर्छ,’ उनले भने, ‘अन्धाधुन्द लगानी गर्नु हुँदैन, पहिला २६÷२७ लाख आवेदन पथ्र्याे भने अहिले १०÷११ लाखमा झरेको छ किनभने देखेका छैनन् ।’

एकथरी लगानीकर्ता आईपीओ परेपछि २÷३ सयमा बेचेर उम्किन्छु भन्ने रहे पनि त्यो अवस्था नरहने उनको भनाइ छ । पछिल्लो समय पूँजी बजारमा नियामक निकाय नै नभएका कम्पनी आउँदा समस्या निम्तिएको उनले बताए ।

‘अब आउने कम्पनी (घोराही)को आईपीओ सेयर मूल्य न्यायोचित छ की छैन भनेर हेर्नु पर्छ, घोराही सिमेन्टले कति उत्पादन गर्छ, कति प्रतिफल दिन सक्छ, प्रिमियम मूल्य सही छ की छैन भनेर विश्लेषण गरेर मात्रै लानी गर्नु पर्छ,’ उनले भने, ‘पहिला बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको आईपीओ आउँदा ठिकै थियो, यी संस्थाहरुको नियामक निकाय बलियो छ, जलविद्युत कम्पनीको नियामक भएपनि राम्रोसँग नियमन गर्न सकेको छैन, सिमेन्ट कम्पनीको नियामक नै छैन, त्यसैले नियामक बलियो भएका कम्पनीमा लगानी गर्दा ठिकै हुन्छ, नभएका कम्पनीमा लगानी गर्नु ठगिनु सरह हो ।’

क्रेडिट रेटिङ्ग गरेर सही मूल्य भएका कम्पनीलाई मात्रै धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति दिनु पर्ने उनले बताए । लगानीकर्तालाई प्रतिफल दिन नसक्ने कम्पनीलाई आईपीओ बिक्री गर्न दिन नहुने उनको भनाइ छ ।

Share News