चन्दा र अनुदानको खर्च पारित गर्न सानिमा हाइड्रोले डाक्यो साधारण सभा

काठमाडौं । सानिमा हाइड्रोपावरले १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले विभिन्न प्रस्ताव पारित गर्न आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २ गते धुम्बाराही काठमाडौंमा अपरान्ह ४ बजे साधारण सभा बोलाएको हो । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असारसम्मको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरूसमेत छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीको सभाले एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने छ भने सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्नेछ । कम्पनीको सभाले चन्दा, अनुदानबापतको खर्च रकम अनुमोदन गर्नेछ ।

अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट, कतिले पाए ?

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको सेयर असोज ८ गते बाँडफाँट गरिएको हो । कम्पनीको हकप्रद सेयरमा १ लाख १० हजार ५६१ जना आवेदकले १ करोड ५३ लाख ३८ हजार २०३ कित्ता सेयरका लागि आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । कम्पनीले गत साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । आफ्नो कायम हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका लगानीकर्ताको रकम असोज १२ गतेदेखि फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

‘राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न मिल्दैन, अब १२ करोडको सीमा तोक्नु हुँदैन’

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले सेयरधितोमा १२ करोडको सीमा तोक्नु नहुने बताएका हुन् । ‘राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्नु हुँदैन, जोखिम देख्नु हुँदैन, १२ करोडमा जोखिम देख्नु हुँदैन, जोखिमभार १५० प्रतिशत राखिराख्नु हुँदैन, बजार बुम भइरहेको बेला जोखिमभार राख्नु हुँदैन, उनले भने । बजार बुम भइरहेको बेला जोखिमभार राख्नु नहुने बताउँदै पूर्व अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकले धितोपत्र बोर्डको भूमिका पनि मुल्यांकन गर्नुपर्ने बताए । सरकारले कान खोलेर सुन्यो भने अहिलेको समस्या समाधान हुने तर अहिले सरकारले अर्थतन्त्र सुधार गर्न कुनै पहल नगरेको उनको भनाई छ । ‘निर्यात आधा भइरहेको छ, यसले हाम्रो व्यापार कस्तो छ भन्ने दखाउँछ, अर्थतन्त्र राम्रो छ भनेर सुन्दा सुन्दै कान पाकिसक्यो, जिम्मेवारी पन्छाउने काम सरकारबाट भइरहेको छ,’ खतिवडाले भने । प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले जिम्मेवारीपूर्वक काम गर्न नसकेका उनको भनाई छ ।