कुथेली बुखरी स्मलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीयलाई समय थप
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ १९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज असार १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाले अब कम्पनीको आईपीओमा असार ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत स्थानीय बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको १ लाख २१ हजार ८६८ कित्ता सेयर दोलखाको कालिञ्चोक गाउँपालिका ९ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडा) र भिमेश्वर नगरपालिका १ का (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा) स्थानीय बासिन्दालाई बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १२ लाख १८ हजार ६ सय रुपैयाँ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ हजार १८६ कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
अप्पर स्याङ्गे हाईड्रोले असार १० गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरले असार १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशत अर्थात् ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत सामूहिक लगानी कोष, २ प्रतिशत कर्मचारीलाई बिक्री गरेर बाँडफाँट पश्चात् बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असार १३ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
आईएमई लाइफको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार १ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।