प्रभु बैंकबाट प्रभु ग्रुपसहित ५ संस्थापक बाहिरीँदै

काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् । विभिन्न संस्थापक ५ जना सेयरधनीहरुले ६ लाख ११ हजार ४४३ कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक सेयरधनी प्रभु ग्रुप प्रा.लि.को स्वामित्वमा रहेको ४ लाख ९७ हजार ३६९ कित्ता, पुण्य प्रसाद बरालको १९ हजार ५१५ कित्ता, नविन अधिकारीको १५ हजार कित्ता, नेत्र नाथ अधिकारीको १० हजार ८३० कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ६८ हजार ७२९ कित्ता कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकले आहवेदन नदिए सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

नबिल ब्यालेन्स्ड फण्ड २ को बुकक्लोज मिति तय

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ले बुक क्लोज मिति तय गरेको छ । लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम इकाईधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् । फण्डले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ । फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ भने कोष प्रबद्र्धक नबिल बैंक रहेको छ ।

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनआईसी एशियाले असोज १६ गतेदेखि असोज २८ गतेसम्म र एभरेष्ट बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज असोज १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद गरी कूल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न असोज २८ गते आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ९ बजे २६ औँ वार्षिक साधारण सभा बोलाएको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न असोज ३० गते लैनचौर ब्याङ्कवेट काठमाडौंमा २९ औँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ ।