शिव श्री हाइड्रोले हकप्रद निष्कासन गर्ने, पारित गर्न बोलायो साधारण सभा
काठमाडौं । शिव श्री हाइड्रोपावरले असोज २५ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बसुन्धरा काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर विक्री गर्न लागेको हो । साथै, सभाले कम्पनीको ठेगाना परिवर्तन गर्ने विषय पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
आईपीओ नबिकेपछि सोनापुर मिनरल्सले थप्यो आवेदन दिने समय
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा लगानीकर्ताले आवेदन नदिएपछि समय थप गरिएको छ । असोज १४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताको ४ दिनको अवधिमा पूर्ण आवेदन नदिएपछि असोज २८ गतेसम्म समय थप गरिएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा स्थानीयले खरिद नगरेको सेयरसहित ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कर्मचारीलाई भने प्रतिकित्ता २२५ रुपैयाँमा ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित राखिएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
मल्टीपर्पस फाइनान्सले डेढ लाख कित्ता सेयर बिक्री गर्दै, मूल्य १०० रूपैयाँ मात्र
काठमाडौं । मल्टीपर्पस फाइनान्सले असोज २९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत साउन भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात् १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये बिक्री नभएको संस्थापक समूह तर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूह तर्फको ६० हजार ६५० कित्ता गरी कूल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।