नेशनल सोलारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । नेशनल सोलार पावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको हो । उक्त आईपीओ निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । साथै, एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा दिने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । नेशनल सोलार पावर कम्पनी सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुर्याएको छ ।

सानिमा माइ हाइड्रोको लाभांश घोषणा, पारित गर्न साधारण सभा आह्वान

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक २३ गतेका दिन १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयर अधिकतम १ अर्ब ५० करोड रुपैयाँसम्म लगानी गर्ने, लगानीका लागि प्रवद्र्धक कम्पनी र सम्बन्धित पक्षसँग सम्झौता गर्ने प्रस्तव पारित गर्नेछ । यस्तै, जुम खोला जलविद्युत आयोजनाको बैंक कर्जा प्रयोजनका लागि प्रचलित कानुनले तोकेको सीमा भित्र रही संस्थागत जमानत दिने प्रस्ताव सभाले पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका १४ लाख १८ हजार ३६६ थान ऋणपत्र असोज १६ गते नेप्सेमा सूचीकृत भएको हो । ९ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८९’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै असोज १७ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।