एभरेष्ट बैंकले बोलायो २९ औं वार्षिक साधारण सभा, २०.५३ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले २९ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज २९ गते लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बोनस सेयर जारी भएपश्चात् पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति सभाले अनुमोदन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा विशाल ग्रुपले ३३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज ८ गतेदेखि असोज १४ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, १० प्रतिशत ब्याज दिने
काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।