अप्पर तामाकोशीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । भदौ १८ गतेदेखि बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सक्ने छन् । यसअघि असोज ७ गतेसम्म समय थियो । तर, हकप्रद सेयरमा पूर्ण आवेदन नपरेकाले आवेदन दिने समय थप गरेको कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता सेयर पाउने छन् । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै सो हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम बैंक र सानिमा बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
सेयर बजारमा एकाएक देखियो उछाल, दर्जनौं कम्पनीमा सर्किट, दुई महिनायताकै उच्च कारोबार
काठमाडौं । बिहीबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबारमा आएका १३ वटै समूह बढ्दा बजारमा हरियाली छाएको हो । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.२३ प्रतिशतले बढी हो । परिसूचक बढेसँगै कारोबार रकम पनि दोब्बर बढीले बढेको छ । गत मंगलबार एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन एकैदिन २ अर्ब १२ करोड रुपैयाँले बढी हो भने साउन १० गते यताकै उच्च कारोबार हो । गत साउन १० गतेको बजारमा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार सर्वाधिक कारोबार गर्नेको अग्रस्थानमा जीवन बीमा कम्पनी अगाडि छन् । सबैभन्दा बढी सूर्य नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ भने दोश्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । दोश्रो बजारमा भित्रिएको पहिलो दिनमै सूर्य नेपाल लाइफको २० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपालको भने १३ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार भएको सूर्य नेपालको सेयर मूल्य भने घटेको छ । पहिलो कारोबार प्रतिकित्ता ४७५.२० रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य दिनभरमा घटेर प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ । बिहीबार दर्जनौं कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेशनल हाइड्रो पावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, थ्री स्टार हाइड्रोको ९.९९, न्यादी हाइड्रोपावरको ९.९८, खानीखोला हाइड्रोको ९.९८, अरुण काबेली पावरको ९.९७, आँखु खोला जलविद्युत कम्पनीको ९.९५, बाराही हाइड्रोपावरको ९.९२, मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.८७ र अप्पर सोली हाइड्रो इलेक्ट्रिक कम्पनीको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा सेयर धितो कर्जामा सीमा हट्ने हल्लाले बिहीबारको सेयर बजारमा एकाएक उछाल देखिएको जानकारहरु बताउँछन् ।
बुद्धभूमि नेपाल हाइड्रोको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।