नयाँ एक्स्चेञ्ज ल्याउन सकेनौं, ब्रोकर कमिसन सेबोनको शुल्क घटेपछि मात्रै घटाउँछौं : अध्यक्ष हमाल

फाइल फोटो काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबान) का अध्यक्ष रमेश कुमार हमालले नयाँ स्टक एक्स्चेञ्ज ल्याउन असफल भएको स्वीकारेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको ‘आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘नयाँ स्टक एक्सचेञ्ज ल्याउन असफल भएका छौं,’ थप्दै उनले भने- ‘पुँजी बजारमा प्रतिस्पर्धा गर्न नयाँ स्टक ल्याउन सबै प्रक्रिया पुर्याएर तीन कम्पनीको आवेदन परेको भएपनि १२/१३ महिनाको अवधिमा ल्याउन असफल भयौं ।’ त्यस्तै, उनले सेबोनको शुल्क घटेपछि मात्रै ब्रोकर कम्पनीको कमिसन घटाइने बताए । ‘पहिला सेबोनले लिने शुल्क घट्छ अनि मात्रै ब्रोकर कमिसन घट्छ,’ उनले भने- ‘ब्रोकर कमिसनका विषयमा व्यवसायबीच डिभियसन हुनु हुँदैन, ब्रोकर कम्पनी पुँजी बजारका मुटु हुन्, ब्रोकर कम्पनीलाई मारमा पारेर कमिशन पुनरावलोकन हुँदैन ।’ गहन रुपमा छलफल गरेर बनाइएको नीतिले देशको अर्थतन्त्रमा कुनै असर नपर्ने अध्यक्ष हमाल बताउँछन् । नेपालको नीति नियमहरु धेरै कडा रहेकोले कसैले गलत गर्छु भन्ने मनसाय बनाउनु बेकारको हुने उनको भनाई छ । ‘नेपालको अर्थतन्त्र संकटग्रस्त भएको छैन, रिकोभरि भैरहेको छ, तर नेपाली समाज उत्ताउलो भयो, किनभने सामान्य विषयलाई पनि भयावह बनाइदिन्छन्,’ उनले भने । पछिल्लो समय हाइड्रो र रियल सेक्टर सुधार भइरहेको बताउँदै बोर्डका अध्यक्षले अहिलेका आएका नीतिहरु सबै लागू गर्ने जिकिर गरे । बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको र १० कित्ते नीतिका नराम्रो पक्ष भएपनि जनमानसमा यो नीति स्थायी भैसकेको उनको भनाई छ । साथै, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने कम्पनीको सेयर मूल्य धितोपत्र बोर्डको आइक्यानको उपाध्यक्षको संयोजकत्वमा रहेको समेत उनले जानकारी गराए ।

ब्रोकर कमिशन पुनरावलोकन गर्दै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिशन पुनरावलोकन गर्ने तयारी गरिरहेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ सो बताएका हुन् । ‘ब्रोकर कमिसन पुनरावलोकन गर्ने तयारी भैरहेको छ, कति घट्छ भन्ने अहिले नै एकिन भएको छैन, तर ब्रोकर कम्पनीको दीर्घकालीन हेरेर नि पुनरावलोकन गरिनेछ,’ उनले भने । पुँजी बजारमा सूचीकृत कम्पनी नडुब्दासम्म कम्पनीहरुको व्यवसाय नखस्किने उनको भनाइ थियो । ‘हालसम्म पुँजी बजारमा सूचीकृत कम्पनी कुनै पनि डुबेका छैनन्, त्यसैले कुनै पनि कम्पनीको व्यवसाय घटेको मानिदैन, सूचीकृत कम्पनी कुनै डुबेपछि मात्रै व्यवसाय खस्किएको भन्न मिल्छ,’ उनले भने । कार्यकारी निर्देशक श्रेष्ठले पब्लिक र प्रमोटर सेयरधनी छुट्याउने नीति बैंक तथा बीमा कम्पनीले ल्याएको भएकाले यसमा बोर्डले केही गर्न नसक्ने बताए । ‘अन्य देशमा संस्थापक र सर्वसाधारण सेयर भनेर छुट्याइएको पाइँदैन, नेपालमा मात्रै पब्लिक र प्रमोटर सेयरधनी छुट्याइने गरेको छ, बैंक तथा बीमा कम्पनीको नियामक निकायले ल्याएको नीति हो, यसमा धितोपत्र बोर्डले केही गर्न सक्दैन,’ उनले भने ।

‘हरियाली देखेका लगानीकर्ता रातो हुने बित्तिकै तर्सिन्छन्, १२ करोडको सीमा बढी भयो’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबान) का उप कार्यकारी निर्देशक नारायण शर्मा बजार राताम्मे हुँदा लगानीकर्ता आत्तिएको बताउँछन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘कोरोना महामारीमा सेयर बजारमा हरियाली छायो, तर त्यसपछि लगातार बजार राताम्मे हुँदा लगानीकर्ता आत्तिएका देखिन्छन्,’ उनले भने । उनका अनुसार पुँजी बजारमा बागमती प्रदेशबाट सबैभन्दा बढी लगानीकर्ता आवद्ध रहेका छन् । पुँजीबजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेल लगातार सेयर बजार घट्दा सेयरको संख्या २७ प्रतिशतले घटेको र पुँजी बजारमा प्रतिफल औसत ११ प्रतिशत मात्रै रहेको बताउँछन् । ‘पुँजी बजार घट्नु हुँदैन भन्नु ज्ञानको अभाव हो, नीतिगत अस्थिरताले बजार घटबढ हुने गरेको छ, नीतिगत अस्थिरता नै लगानीकर्ताको मुख्य विरोध हो,’ उनले थपे – ‘संस्थागत लगानीकर्तालाई आईपीओ र नेटवर्थ नकारात्मक भएका कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिँदा सेयर बजार भोलाटाइल भयो, १२ करोडको सीमा व्यक्तिगत लगानीकर्ताको लागि कम होइन बढी नै हो, तर संस्थागत लगानीकर्ताको लागि कम हो, यसलाई हटाउन पर्छ ।’ कार्यक्रममा बोल्दै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष धर्म सापकोटाले सेबोन अटोमेसन (स्वायत्त) निकाय हुनुपर्ने र अटोमेसन बनाउन सबै निकाय एक हुनुपर्ने भनाई राखे । त्यस्तै, आईपीओका लागि बुक बिल्डिङ बिधि सबैभन्दा राम्रो औजार रहेको भन्दै उनले यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्ने सुझाव दिए । उनका अनुसार सेटलमेन्ट ग्यारेन्टी फण्ड पनि छिट्टै कार्यान्वयनमा ल्याउन आवश्यक देखिन्छ । त्यस्तै, पुँजी बजारमा हुने कारोबारले अर्थतन्त्र चलायमान गर्न भूमिका खेलिरहेको धितोपत्र ब्रोकर एशोसिएशनका महासचिव कृष्ण गिरी बताउँछन् । ब्रोकरहरुलाई दीर्घकालसम्म अस्तित्व राख्न सकस रहेको बताउँदै उनले नयाँ ब्रोकर कम्पनीलाई सञ्चालन गर्न गाह्रो भैरहेको समेत जानकारी गराए । ‘सेयर बजारमा एक अर्ब कारोबार हुँदा अहिलेको कमिसन अनुसार ब्रोकर कम्पनी घाटामा चल्नु परेको छ, दैनिक ५ अर्ब कारोबार हुँदा मात्रै ब्रोकर कम्पनी नाफा गर्न सक्ने छन्,’ उनले भने- ‘तरलता सिर्जना गर्न पुँजी बजारको मुख्य भूमिका रहेको र शरीरको मुटुजस्तै अर्थतन्त्रको मुख्य आधार भनेको पुँजी बजार हो ।’ नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले पुँजी बजारमा सूचीकृत कम्पनी नडुब्दासम्म कम्पनीहरुको व्यवसाय नखस्किने बताए । ‘हालसम्म पुँजी बजारमा सूचीकृत कम्पनी कुनै पनि डुबेका छैनन्, त्यसैले कुनै पनि कम्पनीको व्यवसाय घटेको मानिदैन, सूचीकृत कम्पनी कुनै डुबेपछि मात्रै व्यवसाय खस्किएको भन्न मिल्छ,’ उनले भने । साथै, ब्रोकर कमिशन पुनरावलोकन गर्ने तयारी भैरहेको उनले जानकारी गराए । ‘कमिशन कति घट्छ भन्ने अहिले नै एकिन भएको छैन तर ब्रोकर कम्पनीको दीर्घकालीन अवस्था हेरेर नै पुनरावलोकन गरिने छ,’ उनले थपे ।