नाफासँगै बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी बढ्यो

काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा बीमा कम्पनीहरूको नाफासँगै प्रतिसेयर आम्दानी बढेको हो । गत असोजसम्म निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी औसत ५.११ रुपैयाँ बढेर १७.८ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी औसत १२.६८ रुपैयाँ थियो । गत असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ११.६७ प्रतिशत बढेर ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेका छन् । निर्जीवन बीमाको प्रतिसेयर आम्दानी उच्च बढेको भएपनि जीवन बीमा कम्पनीहरूको भने सामान्य बढेको छ । गत असोजसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी ०.२० रुपैयाँ बढेर ११.८० रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा जीनव बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी ११.७८ रुपैयाँ थियो । गत असोजसम्म जीवन बीमाको खुद नाफा ३६.६३ प्रतिशत बढेर १ अर्ब ७१ करोड ९९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेका छन् । ८ निर्जीवन बीमाको ईपीएस बढ्यो पुँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये विभिन्न ८ कम्पनीको ईपीएस बढेको छ भने ४ कम्पनीको घटेको छ । जसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घटेको छ । राष्ट्रिय बीमा कम्पनीको ३१.४३ रुपैयाँ बढेर ५१.६३ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको छ । नेपाल इन्स्योरेन्सको २१.१२ रुपैयाँ बढेर ३९.१२ रुपैयाँ, नेको इन्स्योरेन्सको ९.४३ रुपैयाँ बढेर १७.५० रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३.०९ रुपैयाँ बढेर १४.११ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । यस्तै, युनाइटेड अजोडको २.७५ रुपैयाँ बढेर ८.१३ रुपैयाँ, प्रभु इन्स्योरेन्सको २.५९ रुपैयाँ बढेर १४.७३ रुपैयाँ, हिमालयन एभरेष्टको १.४१ रुपैयाँ बढेर ९.३० रुपैयाँ र शिखर इन्स्योरेन्सको ०.२३ रुपैयाँ बढेर १६.९४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन् । गत असोजसम्म सगरमाथा लुम्बिनीको ०.१८ रुपैयाँ घटेर ८.७० रुपैयाँ, आइजिआई प्रूडेन्सियलको ०.४० रुपैयाँ घटेर ६.७५ रुपैयाँ, सानिमा जिआईसीको ४.१० रुपैयाँ घटेर ६.७६ रुपैयाँ र सिद्धार्थ प्रिमियरको ५.९५ रुपैयाँ घटेर १९.९६ रुपैयाँमा प्रतिसेयर आम्दानी सीमित भएका हुन् । जीवन बीमामा ८ कम्पनीको बढ्दा ५ कम्पनीको घट्यो दोस्रो बजारमा सूचीकृत कारोबार भइरहेका जीवन बीमा कम्पनीहरूमध्ये विभिन्न ८ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ५ कम्पनीको घटेको छ । जसमध्ये सबैभन्दा धेरै सन नेपाल लाइफको वृद्धि हुँदा सिटिजन लाइफको घटेको हो । सन नेपाल लाइफको ९.०७ रुपैयाँ बढेर २०.६७ रुपैयाँ, सूर्यज्योति लाइफको ५.९२ रुपैयाँ बढेर ११.६२ रुपैयाँ, एलआईसी नेपालको ४.२३ रुपैयाँ बढेर ९.०१ रुपैयाँ, हिमालयन लाइफका ३.१५ रुपैयाँ बढेर १२.०४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । यस्तै, एशियन लाइफको २.६३ रुपैयाँ बढेर २१.०७ रुपैयाँ, सानीमा रिलायन्सको ०.८८ रुपैयाँ बढेर १०.६० रुपैयाँ, नेपाल लाइफको ०.७० रुपैयाँ बढेर ७.७० रुपैयाँ र राष्ट्रिय जीवन बीमाको ०.१४ रुपैयाँ बढेर ८.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन् । समीक्षा अवधिमा प्रभु महालक्ष्मीको २.४८ रुपैयाँ घटेर ९.३५ रुपैयाँ, नेशनल लाइफको २.४३ रुपैयाँ घटेर १०.४० रुपैयाँ, रिलायबल नेपालको ४.९५ रुपैयाँ घटेर ११.९४ रुपैयाँ, आइएमई लाइफको ८.१० रुपैयाँ घटेर १३.०४ रुपैयाँ र सिटिजन लाइफको ८.४५ रुपैयाँ घटेर ७.६३ रुपैयाँमा प्रतिसेयर आम्दानी सीमित भएको छ ।

शिवम् होल्डिङ्सले पनि प्रिमियममा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले पनि आईपीओ जारी गर्ने भएको छ । सिमेन्ट्सको करिब ८५ प्रतिशत सेयर लगानी रहेको शिवम् होल्डिङ्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो । होल्डिङ्सले जारी पुँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने एक सय रुपैयाँ दरको एक करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । जसको लागि संस्थाले नेपाल धितोपत्र बोर्डको स्वीकृतिको लागि प्रक्रिया अगाडि बढाएको छ । संस्थाले अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोडमध्ये संस्थापकहरुतर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड र सर्वसाधारणतर्फ २० प्रतिशत अर्थात १ अर्ब १६ करोड रुपैयाँ सेयर पूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया शुरु गरेको हो । त्यस्तै, उक्त सेयर निष्काशन गर्नको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गर्न सम्झौता गरेको छ । उपयुक्त सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स-साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ । शिवम् होल्डिङग्स २०७१ सालमा प्रा.लि. कम्पनी अन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा परिणत भएको कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा किलङकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरि करिब १२ मेघावाट विद्युत समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको छ । कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको चिनिया विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट, विनयी त्रिवेणी गाँउपालिका सर्दि, पूर्वी नवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत सेयर रहेको छ । उक्त उद्योग विगत ५ वर्षदेखि पूर्ण सञ्चालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ र उक्त शेयर लगानी गरेको कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न शुरु गरिसकेको छ । यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्सको संस्थागत सेयर लगानी करिब ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहेका व्यक्तिहरुको व्यक्तिगत करिब १५ प्रतिशत सेयर लगानी रहेको छ । कम्पनीले आफ्नो सेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ भने सेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरु विस्तार गर्नेछ । जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत सेयर लगानी विस्तार गर्ने योजना कम्पनीको योजना रहेको जानकारी गराइएको छ ।

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २० प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा संस्थाको थप ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।