मंसिर १५ गतेदेखि एकीकृत कारोबार गर्दै हिमालयन र सिभिल क्यापिटल

काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरी मंसिर १५ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । दुवै कम्पनीका माउ संस्था (हिमालयन बैंक र सिभिल बैंक)एक आपसमा मर्ज भएपछि सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका कम्पनी पनि मर्ज भई एकीकृत कारोबार गर्न लागेका हुन् । सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरेपश्चात् हिमालयन क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार संचालन हुने छ । दुबै कम्पनीको गत भदौ २७ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले मर्जर तथा एक्विजिशन सम्बन्धी प्रस्ताव पारित गरेका थिए । साथै, कम्पनी रजिष्ट्रारको कार्यालयले मंसिर १२ गते प्राप्ति गर्न स्वीकृति दिएको थियो । त्यसैले सिभिल क्यापिटलको सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत सकार गरि हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकको निर्णय गरेको हो । हिमालयन बैंकको सहायक कम्पनीका रुपमा हिमालयन क्यापिटलले २०७६ साउन २६ गते कारोबार संचालन गर्दै आइरहेको छ । यस्तै, साविक सिभिल बैंकको सहायक कम्पनीका रुपमा सिभिल क्यापिटलले २०६५ चैत ३० गतेदेखि कारोबार गर्दै आएको थियो ।

१९०० बिन्दुबाट तल झर्यो नेप्से परिसूचक, अधिकांश सूचक राताम्मे

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९४ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार एक अर्ब २८ करोडको सेयर कारोबार भएको बजारमा बुधबार एक अर्ब एक करोडमा खुम्चिएको छ । बजारमा सोनापुर मिनरल्स एण्ड आयलको भने सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ५.७० रुपैयाँले घटेर प्रतिकित्ता २९५.५० रुपैयाँमा झरेको छ । घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने करिब १० प्रतिशतले बढेको छ । संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ६५७ रुपैयाँ पुगेको छ । यता सबैभन्दा बढी सेयर मूल्य घट्नेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३५५.४० रुपैयाँमा झरेको छ । त्यस्तै, बुधबारको बजारमा अन्य समूह बाहेक बाँकी सबै समूह राताम्मे भएका छन् ।

हजारको लगानीले बनायो लाखौंको पोर्टफोलियो, आम्दानीको भरपर्दो स्रोत बन्दै सेयर बजार

नेपालगञ्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले सेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले सेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । ‘हामीले प्राथमिक बजार (आइपीओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौं,’ नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भने । उनले साथीहरू र गुरुको माध्यमबाट सेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू अहिले पनि नाफामा रहेको बताए । ‘आवश्यक खर्च सेयर बजारबाट आएको छ,’ तिमिल्सिना भन्छन् । एक हजार रुपैयाँ लगानी गरेर सेयर बजारको प्राथमिक बजारमा प्रवेश गरेका तिमिल्सिनाले घरबाट आउने खाजा खर्च, शुल्कको पैसा र प्राथमिक बजारबाट गरेको आम्दानीको स्रोतको सदुपयोग गरेर अहिले करिब दुई लाख रुपैयाँको पोर्टफोलियो बनाएको जानकारी दिए । ‘हाम्रो कलेजका धेरै साथीले सेयर बजारमा लगानी गर्नुभएको छ त्यसमा पनि हाम्रो क्लासका २० प्रतिशत साथीले दोस्रो बजारमा पनि लगानी गर्नुभएको छ,’ तिमिल्सिनाले भने । तिमिल्सिना एक वर्षदेखि सेयर बजारको प्राथमिक र दोस्रो बजारको कारोबारी हुन् । अर्का लगानीकर्ता विकास भट्टराई विद्यार्थीकालदेखि सेयर बजारमा लगानी गरेर सफल व्यवसायी भएका छन् । दश जोड दुईको अध्ययन गर्दादेखि नै सेयर बजारमा लगानी गरेका भट्टराईले सेयर बजारमा लगानी गर्न थालेको १० वर्ष बितेको छ । व्यवस्थापन सङ्कायमा अध्ययन गरेका उनले सेयर बजारको स्वअध्ययन र अग्रजसँग सिकेर बजारमा छिरेको बताए । ‘अहिले म सेयर बजारको शिक्षा प्रदान गर्ने ठाउँमा पुगेको छु’, उनले भने । भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहेका भट्टराई स्वःअध्ययन गरेर मात्रै छनोट गरिएका कम्पनीमा लगानी गर्न सुझाव दिन्छन् । ‘जति यसमा रिवार्ड छ, त्यति नै रिस्क पनि छ,’ उनी भन्छन् । इम्पेरियल सेक्युरिटिज कम्पनी (४५) नं ब्रोकर कार्यालय नेपालगञ्जका प्रमुख उदय अधिकारीले व्यवस्थापन सङ्कायको स्नातकतहका अधिकांश विद्यार्थी सेयर बजारप्रति आकर्षित भएको जानकारी दिँदै उनीहरूले सेयर बजारबाट आएको आम्दानी कलेजको शुल्कलगायत काममा खर्च गरेको बताए । विद्यार्थीले एक सय रुपैयाँमा खरिद गरेको सेयर दुई सय रुपैयाँमा बेचेर पनि नाफा सुरक्षित गरेको उल्लेख गर्दै अधिकारीले वैदेशिक रोजगारमा रहेका र केही गृहिणीले समेत बजारमा लगानी गरेको जानकारी दिए । ‘विद्यार्थीका लागि सेयर बजार आम्दानीको भरपर्दो स्रोत बनेको छ’, अधिकारीले भने । सेयर बजारमा लगानी गर्न बाँकेबाहेक बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुुकुम, हुम्ला, जुम्ला, सल्यानलगायत जिल्ल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन् । अधिकारीले सेयर बजारको प्राथमिक सेयर धेरै जारी भएकाले पैसा होल्ड भएर त्यसको प्रभाव बजारमा पनि परेको हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालमा जस्तो आइपीओ जारी गर्ने प्रचलन नभएको बताए । ‘बाहिरको बजारमा सबैले यहाँजस्तो आइपीओ र बोनस सेयरको चलन छैन’, उनले भने । अधिकारीले केही लगानीकर्ताले एकैदिन ५० लाख रुपैयाँसम्म लगानी गरेको जानकारी दिँदै अहिले औसतमा दैनिक एक करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको बताए । करिब ३५ हजार लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय लगानीकर्ता भएको बताइएको छ । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा सेयर कारोबार गर्दै आएको छ । रासस