घलेम्दी हाइड्रोको हकप्रद सेयर खरिद गर्ने समय थपियो, अब कहिलेसम्म किन्न सकिन्छ ?

काठमाडौं । घलेम्दी हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । मंसिर १० गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा अब लगानीकर्ताले पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले चुक्ता पूँजीको १ः२ अर्थात् २ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजी ५५ करोड रुपैयाँको १ अर्ब १० करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

मन्दाकिनी हाइड्रोको लाभांश घोषणा, पारित गर्न डाक्यो १०औँ साधारणसभा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर डेभलपमेन्टले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते काठमाडौंमा बिहान ११ बजे १०औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सञ्चालकहरूको सेवा सुविधा बढाउने र प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस २० गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस १९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

सेयर कारोबार गर्न लगानीकर्ता परिपक्व छन् : सीईओ आचार्य

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले सेयर बजारका लगानीकर्ता परिपक्व रहेका बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बजारमा २० देखि ६० वर्ष उमेर समूहका लगानीकर्ता सक्रिय छन्, त्यसैले कारोबार गर्न लगानीकर्ता परिपक्व छन्, उनले भने । त्यस्तै, बजार हरियाली हुँदा डिम्याट खाता खोल्नेको संख्या बढेको बताउँदै उनले अन्य प्रदेशको तुलनामा बागमतीमा लगानीकर्ताको संख्या बढी रहेको समेत जानकारी गराए । गुणस्तरीय सेवा दिए पुँजी बजारको भविष्य उज्वल रहेको बताउँदै सीईओ आचार्यले बजारमा स्टक डिलरको संख्या अझै बढाउनुपर्ने आवश्यकता औल्याए ।