साढे १६ लाख बढीले भरे हिमालयन रि इन्स्योरेन्सको सेयर

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । आईपीओको बिक्री खुला भएको अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले सेयर भरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)को अनुसार अन्तिम दिन अर्थात सोमबार ५ बजेसम्ममा साढे १६ लाख बढीले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ बराबरको आवेदन दिएका छन् । आवेदकहरुले कूल ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयर माग गरेका छन् । जुन कम्पनीले माग गरेको भन्दा बढी हो । कम्पनीले सर्वसाधारणबाट २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

दैनिक उकालो लाग्दै सेयर बजार, एकैदिन पौने ७ अर्ब माथिको कारोबार

काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि खुलेको बजार करेक्सन हुँदै प्राय निरन्तर रुपमा उकालो लागिरहेको छ । आइतबार पनि दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार पनि ३८.१४ अंकले बढेको छ । सेयर मूल्य मापक उक्त परिसूचक अघिल्लो दिनको तुलनामा १.८८ प्रतिशतले बढेर २०६०.४९ बिन्दुमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा थप उछाल देखिएको छ । दिनमा एक अर्बको कारोबार हुन धौंधौं पर्ने बजारमा पछिल्लो समय अर्बौं बढीको कारोबार हुन थालेको छ । सोमबारको बजारमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ७१ करोड रुपैयाँले बढी हो । आइतबारको बजारमा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २६ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ३०५ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मूल्य बढेका कम्पनीमध्ये १३ वटाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी अर्थात १० प्रतिशतसम्मले बढेको छ, जसमा अधिकांश कम्पनी लघुवित्त समूहका रहेका छन् । बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १०।१० प्रतिशतले बढेको छ । त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्इ ९.९९ प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशत, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.६५ प्रतिशत, जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाको ९.३१ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ९.१७ प्रतिशत र गुडविल फाइनान्सको सेयर मूल्य ९.०७ प्रतिशतले बढेको छ । बजारमा हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ७.८६ प्रतिशतले घटेर प्रतिकित्ता २२९.७० रुपैयाँमा झरेको छ ।

प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद जारी गर्ने, पुँजी ५ अर्ब नाघ्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावको सैद्धान्तीक स्वीकृतिको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेश गर्ने छ । र, प्राधिकरणको स्वीकृत पाएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले उक्त हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले प्राधिकरणले तोकेको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । १७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।