दैनिक उकालो लाग्दै सेयर बजार, एकैदिन पौने ७ अर्ब माथिको कारोबार

<p>काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि खुलेको बजार करेक्सन हुँदै प्राय निरन्तर रुपमा उकालो लागिरहेको छ । आइतबार पनि दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार पनि ३८.१४ अंकले बढेको छ । सेयर मूल्य मापक उक्त परिसूचक अघिल्लो दिनको तुलनामा १.८८ [&hellip;]</p>

काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि खुलेको बजार करेक्सन हुँदै प्राय निरन्तर रुपमा उकालो लागिरहेको छ ।

आइतबार पनि दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार पनि ३८.१४ अंकले बढेको छ । सेयर मूल्य मापक उक्त परिसूचक अघिल्लो दिनको तुलनामा १.८८ प्रतिशतले बढेर २०६०.४९ बिन्दुमा पुगेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा थप उछाल देखिएको छ । दिनमा एक अर्बको कारोबार हुन धौंधौं पर्ने बजारमा पछिल्लो समय अर्बौं बढीको कारोबार हुन थालेको छ । सोमबारको बजारमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ७१ करोड रुपैयाँले बढी हो । आइतबारको बजारमा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २६ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

३०५ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मूल्य बढेका कम्पनीमध्ये १३ वटाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी अर्थात १० प्रतिशतसम्मले बढेको छ, जसमा अधिकांश कम्पनी लघुवित्त समूहका रहेका छन् ।

बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १०।१० प्रतिशतले बढेको छ ।

त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्इ ९.९९ प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशत, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.६५ प्रतिशत, जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाको ९.३१ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ९.१७ प्रतिशत र गुडविल फाइनान्सको सेयर मूल्य ९.०७ प्रतिशतले बढेको छ ।

बजारमा हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ७.८६ प्रतिशतले घटेर प्रतिकित्ता २२९.७० रुपैयाँमा झरेको छ ।

Share News