सेयर बजारमा उछाल, परिसूचक २७ अंकले बढ्दा ५ अर्ब माथिको कारोबार

<p>काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा नेप्से परिसूचक २७ अंकले बढेको छ । कारोबार खुलेलगत्तै घटेर १९५१ बिन्दुसम्म झरेको परिसूचक कारोबार बन्द हुँदासम्म २७.७५ बिन्दुले बढेर २०२२.३५ बिन्दुमा पुगेको छ । जुन गत बिहीबारको तुलनामा १.३९ प्रतिशतले बढी हो । बजारमा कारोबार रकममा पनि सुधार आएको छ । एकैदिनमा ५ अर्ब १५ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा नेप्से परिसूचक २७ अंकले बढेको छ । कारोबार खुलेलगत्तै घटेर १९५१ बिन्दुसम्म झरेको परिसूचक कारोबार बन्द हुँदासम्म २७.७५ बिन्दुले बढेर २०२२.३५ बिन्दुमा पुगेको छ । जुन गत बिहीबारको तुलनामा १.३९ प्रतिशतले बढी हो ।

बजारमा कारोबार रकममा पनि सुधार आएको छ । एकैदिनमा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा २ अर्बले बढी हो भने गत ६ महिना यताकै सर्वाधिक हो । गत असार १३ गतेको बजारमा ५ अर्ब ९७ करोड र त्यसपछिको असार १७ गतेको बजारमा ५ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयता भने हालसम्म ५ अर्बको कारोबार हुन सकेको थिएन ।

कारोबारमा आएका २९५ वटा स्क्रीप्समध्ये सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १४६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, अन्य चार कम्पनीको १० करोड माथिको सेयर कारोबार भएको छ । सोनापुर मिनिरल्स एण्ड आयलको १६ करोड ६५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेनसको १६ करोड १५ लाख, शिवम् सिमेन्टको १४ करोड ५ लाख र अरुण काबेली पावरको १२ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मूल्य बढ्नेमा पनि ११ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल (बालाजु), रिडि पावर कम्पनी, शिवश्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, विध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, रावा इनर्जी डेभलपमेन्ट, थ्री स्टार हाइड्रोपावर र हाथवे इन्भेपटमेन्ट नेपाल रहेका छन् । जसको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ ।

उछाल आएको बजारमा पनि बैंकिङ्ग, म्यूचुअल फण्ड र ट्रेडिङ्ग समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

Share News