१० दिनपछि खुलेको सेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब बढीको कारोबार

काठमाडौं । १० दिनपछि खुलेको सेयर बजारमा सामान्य वृद्धि भएको छ । तिहार तथा छठपछि सोमबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अंकले बढ्दै १ हजार ८ सय ५३.४८ बिन्दुमा पुगेको छ । आज सेयर बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ । आज ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर रह्यो । आज होटल तथा पर्यटन समूहको उपसूचक, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक क्रमशः १.२६ प्रतिशत र १.४२ प्रतिशतले बढेका छन् भने बाँकी उपसूचक १ प्रतिशत कमले बढेका छन् । आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।

सोल्टी होटलको बम्पर लाभांश, नगद मात्रै २६.५८ प्रतिशत बाँड्ने, बोनस कति ?

काठमाडौं । सोल्टी होटलले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी ८८ करोड ४७ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ४९औँ वार्षिक साधारणसभा पुस २६ गते बिहान साढे १० बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ । साथै, लाभांश तथा साधारणसभा प्रयोजनार्थ पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ४ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद दोब्बर

काठमाडौं । नेपाल एसबिआई बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।