२८ अंकले घट्यो बिहीबारको सेयर बजार, सबै समूह राताम्मे

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २८ अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक कारोबार बन्द हुँदा २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार भने बुधबारको तुलनामा बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएको बजारमा बिहीबार २ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३०९ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । बोटलर्स नेपाल (बालाजु) को १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता २१ हजार ६०५ र ७५८ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । राताम्मे देखिएको बिहीबारको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३५०.९० रुपैयाँमा झरेको छ ।

दोर्दी खोलालाई शतप्रतिशत हकप्रद जारी गर्न स्वीकृति, चुक्ता पुँजी २.१० अर्ब हुने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै अब कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले सो मात्राको हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।

सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १९ गुणा बढी आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले जारी गरेकाे आईपीओका लागि मागभन्दा १९ गुणा बढीको आवेदन परेको छ । सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन थियो । १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यो कम्पनीको सेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले सेयर पाउँदैनन् । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।