सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, भाग्यमानी २६ जनाले पाए ५१ कित्ता

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट सम्पन्न भएको जानकारी दिएको छ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन सदर भएको छ भने१ हजार ३४२ आवेदन रद्द भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । बाँकी रहेको २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता सेयर प्राप्त गरेका छन् ।

दुई इन्स्योरेन्ससहित जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्ससहित जीवन विकास लघुवित्तको कूल ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स र जीवन विकास लघुवित्तको गरी सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत अर्थात १९ लाख ८६ हजार २२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, यूनाइटेड अजोड इन्स्योरन्सको १०.२६१२ प्रतिशत अर्थात १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । साथै, जीवन विकास लघुवित्तको १४ प्रतिशत अर्थात १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

उतारचढावबीच दोहोरो अंकले बढ्यो सेयर बजार, पिपुल्स हाइड्रोमा लाग्यो सर्किट

काठमाडौं । बिहीबारको सेयर कारोबारमा तीव्र उतारचढाव देखियो । दिनभर उतारचढाव देखिएको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १३.५१ अंकले बढेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक ०.६७ प्रतिशतले बढेर २०३०.५५ बिन्दुमा पुगेको छ । बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबारको कारोबार भने ३ अर्ब १९ करोडमा सीमित भएको छ । बिहीबार कारोबारमा आएका कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी रकमको संस्थापक सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य बढ्नेमा पिपुल्स हाइड्रोपावर अगाडि रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत अर्थात ३१.८० रुपैयाँले बढेर प्रतिकित्ता ३४९.८० रुपैयाँ पुगेको छ । बिहीबार तीन समूह राता देखिएका छन् भने बाँकी समूहमा हरियाली छाएको छ । राताम्मे देखिनेमा होटल्स एण्ड टुरिजम, म्यूचुअल फण्ड र ट्रेडिङ समूह रहेका छन् ।