काठमाडौं । बिहीबारको सेयर कारोबारमा तीव्र उतारचढाव देखियो । दिनभर उतारचढाव देखिएको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १३.५१ अंकले बढेको छ ।
बुधबारको तुलनामा बिहीबारको परिसूचक ०.६७ प्रतिशतले बढेर २०३०.५५ बिन्दुमा पुगेको छ ।
बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबारको कारोबार भने ३ अर्ब १९ करोडमा सीमित भएको छ ।
बिहीबार कारोबारमा आएका कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी रकमको संस्थापक सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ ।
बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य बढ्नेमा पिपुल्स हाइड्रोपावर अगाडि रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत अर्थात ३१.८० रुपैयाँले बढेर प्रतिकित्ता ३४९.८० रुपैयाँ पुगेको छ ।
बिहीबार तीन समूह राता देखिएका छन् भने बाँकी समूहमा हरियाली छाएको छ । राताम्मे देखिनेमा होटल्स एण्ड टुरिजम, म्यूचुअल फण्ड र ट्रेडिङ समूह रहेका छन् ।