काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ माघमा सूचीकृत कम्पनीहरूको संख्या २४६ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्जमा २०८० माघसम्म सूचीकृत ८ अर्ब २१ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब १३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा ६५ अर्ब ८६ करोड रुपैयाँको साधारण सेयर, १० अर्ब ५९ करोड रुपैयाँको बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर र ३ करोड रुपैयाँ एफपीओ गरी कुल ८२ अर्ब ५७ करोड रुपैयाँको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब २ करोड रुपैयाँ डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँ म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँ धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।