
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आइतबार नेपाल धितोपत्र ब्रोकर एसाेसियसनका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री पुनले नीतिगत व्यवस्थामा सुधार गरेर भए पनि पुँजीबजारको विकास र प्रवर्द्धन गर्ने बताएका हुन् ।
‘सेयर बजार प्राथमिक विषय हो, बजारमा देखिएका समस्यालाई समाधान गर्छाैं, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट देखिएका समस्या समाधान गर्न गभर्नर र सेबोन अध्यक्षसँग बसेर समाधान गर्छु,’ एक ब्रोकर व्यवसायीले अर्थमन्त्रीलाई उदृत गर्दै विकासन्युजसँग भने, ‘६०/६२ लाख लगानीकर्ता प्राथमिक बजार र २० लाख लगानीकर्ता दोस्रो बजारमा सक्रिय छन्, बजारको आवश्यकता र लगानीकर्ताको मनोबल बढाउन सरकार सकारात्मक छ ।’
अर्थमन्त्री पुनले सेयर बजार अर्थतन्त्रको एक हिस्सा रहेको बताएका छन् ।
ब्रोकर व्यवसायीहरूले बजारको विकास र प्रवर्द्धनका लागि तत्काल र दीर्घकाल गर्नुपर्ने कामहरूलाई सुझावका रूपमा पेस गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत लगानीकर्ताका रूपमा दोस्रो बजारमा सहजरूपमा कारोबरा गर्न दिनुपर्ने माग ब्रोकर व्यवसायीहरूले गरेका छन् ।
हाल बैंक तथा वित्तीय संस्थाहरूले कोर क्यापिटलको १ प्रतिशतभन्दा बढी सेयर कारोबार गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । संस्थागत लगानकर्तालाई बढी जोड दिएर बैंकका लागि पुरानै व्यवस्था कायम गर्नुपर्ने उनीहरूको माग छ ।
साथै, कर्जामा जोखिम भार घटाउनुपर्ने, व्यक्तिगत र संस्थागत लगानीकर्ताका लागि तोकिएको १५/२० करोडको क्याप हटाउनुपर्ने लगायतका माग आफूहरूले राखेको ब्रोकर व्यवसायीहरूको भनाइ छ ।