काठमाडौं । आइतबारको सेयर बजारमा सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
कारोबार रकममा मात्रै नभई कारोबार संख्याको आधारमा पनि सन नेपालको सबैभन्दा बढी छ । कम्पनीको एकैदिन ४ लाख १५ हजार ९४९ कित्ता सेयर ४ हजार ९२५ पटकमा किनबेच भएको छ ।
त्यस्तै, आइतबारको बजारमा कम्पनीको सेयर मूल्य पनि बढेको छ । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य २८.८० रुपैयाँले बढेर प्रतिकित्ता ५९९.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा ५.०४ प्रतिशतले बढी हो । यससँगै, आइतबारको टप गेनरको सूचीमा सन नेपाल पाँचौं स्थानमा रहेको छ ।
यद्पि आइतबारको बजारमा कम्पनीको सेयर प्रतिकित्ता अधिकतम ६२८.१० रुपैयाँसम्म कारोबार भएको थियो ।
कम्पनीले बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको बजार जानकारहरु बताउँछन् । आइतबार मात्रै कम्पनीले २३.८० प्रतिशत बोनस र बोनसपछि २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । साथै, कम्पनीले कर प्रयोजनको लागि ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ ।
फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेकोे हो । हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब २० करोड रुपैयाँ छ । प्रस्तावित बोनस पछि कम्पनीको चुक्ता पुँजी तीन अर्ब ९६ करोड रुपैयाँ नाघ्ने छ । उक्त कायम पुँजीको २७ प्रतिशत अर्थात एक बराबर ०.२७ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव कम्पनीले गरेको छ । उक्त प्रस्ताव पारित भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ ।
इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुर्याउन उक्त प्रस्ताव गरेको हो । जुन प्राधिकरणले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले सो मात्राको बोनस पछि हकप्रद सेयर जारी गर्ने छ ।