हिमालयन रिको सेयरमा झुम्मिए लगानीकर्ता, एक्लैको पौने दुई अर्ब बढीको कारोबार
काठमाडौं । पछिल्लो समय हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कारोबार र मूल्य निरन्तर बढेसँगै लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बिहीबार मात्रै कम्पनी एक्लैको पौने २ अर्ब बढी अर्थात एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यससँगै सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि रहेको छ । त्यसैगरी, कारोबार र कारोबार संख्याको आधारमा पनि हिमालयन रि शीर्ष स्थानमा नै देखिएको छ । दिनभरमा कम्पनीको एक लाख ५४ हजार ०११ पटकको कारोबारमा कूल ३० लाख ४४ ह जार ७०२ कित्ता सेयर किनबेच भएको छ । बिहीबार हिमालयन रिको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ६५३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ८.४४ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता १०३.५ रुपैयाँको उतारचढाव देखिएको छ । बिहीबार कम्पनीको सेयर न्यूनतम ५५८ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा किनबेच भएको देखिन्छ । दोश्रो बजारमा प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य दैनिक बढेर प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा कारोबार भएको छ । समग्रमा बिहीबारको बजारमा कूल ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । त्यस्तै, नेप्से परिसूचक पनि ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा झरेको छ । घटेको बजारमा पनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको १० १० प्रतिशतले र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
नाफा बुक गर्ने हाबी हुँदा सेयर बजारमा करेक्सन, पौने १० अर्बको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा करेक्सन देखिएको छ । मंगलबार बढेर उच्च बिन्दुमा पुगेको नेप्से परिसूचकमा बुधबार १२.१० अंकको करेक्सन देखिएको हो । कारोबार खुल्दा उकालोको बाटो समाएको बजारले बन्द हुँदा ०.५५ प्रतिशतले घटेर २१६३.०६ बिन्दुमा झरेको छ । नाफा बुक गर्ने हाबी हुँदा बजारमा करेक्सन देखिएको हो । दिनभरको बजारमा पौने १० अर्ब बढीको सेयर कारोबार भएको छ । ३०० वटा स्क्रीप्स कारोबारमा आएको बजारमा ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभरमा ३ करोड ३५ लाख २५ हजार ७०२ वटा सेयर खरिदबिक्री भएका छन् । बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६५ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयर मूल्यमा बुधबार पनि सर्किट लागेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६०२.२० रुपैयाँ पुगेको छ । दोहोरो अंकले घटेको बजारमा हिमालयन रि इन्स्योरेन्ससहित चार कम्पनीको सेयर मूल्य सर्किट लागेको छ । जसमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनीको १० प्रतिशत र गरिमा डिबेन्चर, २०८५ को ९.८९ प्रतिशतले सेयर मूल्य बढेको छ । दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । इष्ट्रन हाइड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बजारमा बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् ।
कैलाश हेलिकप्टरले प्रिमियममा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । कैलाश हेलिकप्टरले प्रिमियममा सेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक प्रताप जङ्ग पाण्डे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पूँजी ३५ करोडको १० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने प्रक्रिया अघि बढाएको छ । ३ करोड ५० लाख रुपैयाँ सेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरको ३,५०,००० कित्ता साधारण सेयर प्रचलित कानूनको अधिनमा रही सर्वसाधारणहरुलाई प्रिमियम मुल्यमा जारी गर्ने कम्पनीले जनाएको छ । सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको यस कम्पनीले एयरबस कम्पनी फ्रान्सद्वारा निर्मित एएस३५० सेरिजको ३ वटा हेलिकप्टर मार्फत उच्चस्तरिय विविध सुविधा प्रदान गर्दै आएको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आ.व.०७६/२०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको छ । कम्पनीले आ.व.२०७९/२०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशतका दरले नगद लाभांस वितरण गरेको छ । उक्त बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको बोनस वितरण पश्चात किताबी मुल्य १४६/२९ रुपैयाँ कायम रहेको कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकप्टर कम्पनीहरुले ५ वर्ष भित्र ५ थान हेलिकप्टर पुरयाउनु पर्ने भनी जारी गरिएको नितिलाई अनुसरण गर्दै पूँजी बृद्घि गरी सुरक्षा नितिको पूर्ण पालना गरी सन् २०२५ मा १ थान र सन् २०२७ मा १ थान गरी थप २ थान हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल ५ वटा हेलिकप्टर सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।