सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा, मूल्य २२० रुपैयाँ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ३ लाख कित्ता सेयर आज माघ ३ गतेदेखि बिक्रीमा राखेको हो । इन्स्योरेन्स कम्पनीका अनुसार संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले माघ ११ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।
गरिमा क्यापिटलले ल्यायो गज्जबको लगानी व्यवस्थापन सेवा
काठमाडौं । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । क्यापिटलका अनुसार माघ १ गते देखि सुरु भएको यो योजना माघ मसान्त सम्म मात्र लागू हुनेछ । यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिनेछ । साथै, यो योजना उपभोग गर्न न्युनतम लगानी रकम वा सेयर दश लाखको हुनुपर्ने छ । गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
एकैदिन ८ अर्ब माथिको सेयर कारोबार, साउनयताकै उच्च बिन्दुमा परिसूचक
काठमाडौं । आइतबारको बजारमा एकैदिन ८ अर्ब माथिको सेयर कारोबार भएको छ । कारोबार खुलेदेखि निरन्तर बढेको बजारमा दिनभरमा ८ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जुन विगत एक वर्षयताकै सर्वाधिक कारोबार हो । बजारमा परिसूचक पनि ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.५७ प्रतिशतले बढी हो भने गत साउन यताकै उच्च बिन्दु हो । बजारमा सोनापुर मिनिरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बढेको बजारमा १५ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, नेपाल वेयरहाउजिङ्ग कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दिी हाइड्रो, अप्पर तामाकोशी हाइड्रोपावर, न्यादी ग्रुप पावर, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था र लिवर्टी इनर्जी कम्पनी रहेका छन् । त्यसैगरी, बजारमा कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१३ अंकले बढेको छ ।