१ सय रुपैयाँमै घलेम्दी हाईड्रोको ३२ लाख कित्ता सेयर बिक्री खुला

काठमाडौं । घलेम्दी हाईड्रोले आजदेखि माघ ९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले माघ २३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

माउन्ट एभरेष्ट पावरले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले २५ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । जसको लागि कम्पनीले एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धी सम्झौतामा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको साधारण सेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा एनआइएमबि एस क्यापिटलले प्रदान गरिनेछ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत हुन आउने २५ लाख ८० हजार कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन लागेको हो । कम्पनीले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ ।

नेप्से परिसूचकमा ३१ अङ्कको गिरावट, कारोबार घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ८० लाख ४३ हजार दुई सय ४४ कित्ता सेयर एक लाख ५० हजार पाँच सय ४३ पटक खरिद बिक्री हुँदा छ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज व्यापार समूहको उपसूचक शून्य दशमलव ३५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जलविद्युत समूह दुई दशमलव २४ प्रतिशतले घेटेको छ । अपर स्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ३३ प्रतिशत रहेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ७८ करोड ६३ लाख ८३ हजार चार सय ९२ रुपैयाँ बराबरको ११ लाख ९७ हजार तीन सय ५५ कित्ता सेयर कारोबार भएको छ ।