अमेरिकी स्टक एक्सचेञ्जमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने

वाशिङ्गटन डिसी । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएम एक्विजिसन कर्पबीच नास्डकमा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको कम्पनीको भनाइ छ । मर्जरपछि कम्पनीको दुई सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ । कम्पनीका संस्थापकसमेत रहेका प्रमुख कार्यकारी अधिकृत डा मास्केका अनुसार उक्त कम्पनीसँगको सहकार्यपछि कम्पनी ‘फ्युज’ नामबाट नास्डाकमा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमाससम्म पूरा हुनेछ । हाल उक्त सम्झौतालाई दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतीले पारित गरिसकेको छ भने अब सेयरधनीहरुको स्वीकृति र आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि कम्पनी नास्डाकमा सूचीकृत हुनेछ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा सहप्राध्यापक समेत रहेका डा. मास्केले सन् २०१३ मा फ्युजमेसिन्स कम्पनी स्थापना गरेको थियो । हाल फ्युजमेसिन्स कम्पनीले नेपाल, अमेरिका र क्यानाडाका विभिन्न कम्पनी तथा संस्थासँग काम गरिरहेको छ । कम्पनीमा कार्यरत चार सय ५० जना कर्मचारीमध्ये ३५० जना नेपालबाट काम गरिरहेको उनले बताए । डा. मास्केले भने, ‘कम्पनीको संस्थापकका रुपमा विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने निकाय नास्डाकमा  सूचीकृत भएर कारोबार गर्न पाउनु कम्पनीका लागि कोसेढुङ्गा नै हो । यसबाट कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा ठूलो फड्को मार्ने आशा गरेको छु ।’ सम्झौताअनुसार सीएलएलएममा आबद्ध भएकाहरुले पाइप फाइनान्सिङ र प्रिक्लोजिङ फाइनान्सिङ गरी मितिश्र ढङ्गले फ्युजमेसिन्समा १९ दशमलव ४४ मिलियन डलरसम्म लगानीको प्रतिबद्धता जनाएका छन् । यो रकम कम्पानीको चालु पुँजीको आवश्यकता पूरा गर्न खर्च गरिनेछ कम्पनीको भनाइ छ । रासस

अरुण काबेलीले ७ महिनापछि पुनः शुरु गर्यो विद्युत उत्पादन

काठमाडौं । अरुण काबेली पावरले सात महिना पछि पुनः विद्युत उत्पादन शुरु गरेको छ । गत जेठ ३२ गतेदेखि बन्द भएको काबेली बी १ जलविद्युत आयोजनाको विद्युत उत्पादन माघ १० गतेदेखि पुनः सञ्चालनमा आएको हो । पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरुमा क्षति भएकाले उक्त आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो । हाल सोको मर्मत तथा संभार भएकोले कम्पनीले पुनः सञ्चालनमा ल्याएको र विद्युत उत्पादन पुनः शुरु गर्न थालेको हो । कम्पनीले पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाहरुको सिमाना भएर बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गर्दै आएको छ ।

स्वाभिमान लघुवित्तले लाभांश नदिने

काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।