सेयर बजारमा १७ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १७.०४ अंकले घटेको छ । नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । आइतबार ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ६० रुपैयाँ १० पैसाले वृद्धि भएर ६६१ रुपैयाँ १० पैसा कायम भएको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । ६४ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
विजय लघुवित्तले लाभांश नबाड्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । बैठकले लाभांश नबाड्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने पनि निर्णय गरेको छ । कम्पनी सचिव सरोज घिमिरेका अनुसार राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्नेछ ।
माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिन सक्नेछन् ।