आईपीओ जारी गर्दै आदर मल्टी इन्भेष्टमेन्ट, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । आदर मल्टी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे छ । आइतबार आयोजित एक कार्यक्रममा आदर मल्टी इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको जारी पुँजी रकम १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार रुपैयाँ सेयर पुँजी बराबरको १०० रुपैयाँ अंकित दरको ५३ लाख ५७ हजार ४०० कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर मंगलबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय १० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले संस्थापक सेयर खरिदका लागि आगामी असार ११ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् । यो सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ । बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ । सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि समय थप

काठमाडौं । कुमारी बैंकले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीका लागि समय थप गरेको छ । असार ४ गतेसम्म संस्थापक सेयर बिक्री नभएपछि बैंकले ५ लाख ८१ हजार २५१ कित्ता सेयरको बोलपत्र अवधि असार ११ गतेसम्मका लागि थप गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति र संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् । सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।