काठमाडौं । नुवाकोट घर भएका दिनेश घिमिरे (परिवर्तित नाम) हाल वैदेशिक रोजगारीको लागि कतारमा छन् । उनी नेपालमा रहँदा नै साथीभाईहरूको सुझाव अनुसार र केही आफ्नो बुझाइका आधारमा आईपीओ भर्ने गरेका थिए ।
नेपालमा हुँदा उनकाे करिब ५० हजार रूपैयाँकाे पोर्टफोलियो थियो । विदेश गएर पनि उनले केही समय आईपीओ भर्ने क्रम जारी राखे । हाल उनको पोर्टफोलियो करिब ९० हजार रूपैयाँ हाराहारीमा छ । उनलाई सेयर कसरी बेच्ने भन्नेबारे सुरुमा ज्ञान थिएन, केही साथीहरूले ब्रोकर खाता खोलेपछि मात्रै बेच्न मिल्छ भनेर सुझाव दिए । त्यसपछि उनले सामाजिक सञ्जालमा कसरी खाता खोल्ने भनेर खोज्न थाले ।
खोज्ने क्रममा उनले खाता खोल्दिने भन्दै गरेका थुप्रै विज्ञापनहरू भेटाए । तिनैमध्ये एकलाई उनले खाता खोलिदिन आग्रह गर्दै म्यासेज गरे । ती एजेन्टले पनि सहजै स्वीकार गरे र चाहिने कागजपत्र मगाए, सँगै उनले क्यूआर पनि पठाए ।
‘तपाईंले विदेशबाट खाता खेल्नुहुने भएकोले ५०० रुपैयाँ लाग्छ,’ ती व्यक्तिको भनाइ उद्धृत गर्दै घिमिरे भन्छन्, ‘सुरुमा पैसा लाग्ने केही कुरा गर्नुभएको थिएन पछि सबै कागजपत्रहरू पठाएपछि ५०० रुपैयाँ लाग्छ भन्नुभयो ।’
घिमिरेले यो घटना हामीलाई सुनाएपछि हामीलेले सोही व्यक्तीलाई ब्रोकर खाता खोल्न भन्दै बुझ्ने प्रयास गर्यौं । सो क्रममा घिमिरेको भनाइ प्रमाणित हुने केही तथ्यहरू हामीले पनि फेला पारेका छाैं। अनलाईन डिम्याट-मेरो सेयर-ब्रोकर सेवा नेपाल नामक एक फेसबुक पेजले ब्रोकर खाता खोलेको ५ सय रुपैयाँ लिने गरेको बतायो । विदेशबाट खाता खोल्दा कति लाग्छ भन्ने हाम्रो प्रश्नमा सो पेजले भन्यो ‘विदेशबाट खोलेको पनि एउटै रेट हो ५०० रुपैयाँ लाग्छ ।’
हामीले विदेशबाट हो भनेपछि उक्त फेसबुक पेजलाई अझै धेरै पैसा कमाउन सकिने सोच बन्यो । उक्त पेजमा डिम्याट, मेरोसेयर र ब्रोकर सेवा दिइने भनि विज्ञापन गरिएको थियो । हामीले सोहीलाई आधार मान्दै आफूसँग मेरोसेयर पनि नभएको र सो पनि बनाइदिन आग्रह गर्यौं । विदेशमा रहेको कुरा जानकारी पाइसकेको उक्त पेजले तुरुन्तै भन्यो ‘मेरो सेयर खाता खोलेको १२ सय रुपैयाँ लाग्छ ।’
त्यस्तै, सामाजिक सञ्जाल फेसबुकमा देखिएको अर्को एक विज्ञापनकर्तासँग हामीले पुन: बुझ्यौं । उनले सन्तोष फोम्बो लिम्बु नामको आफ्नो व्यक्तिगत फेसबुकबाट नै विज्ञापन गरेका थिए । उनीसँग हामीले कुरा गर्दा सुरुमा ब्रोकर खाता खोलेको १५० लाग्ने बताए । त्यस लगत्तै विदेशबाट खोलेको कति लाग्छ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘विदेशबाट हो भने ३ सय रुपैयाँ लाग्छ ।’
ती व्यक्तिलाई पुन: मेरोसेयर पनि बनाउनुपर्ने कुरा सुनाउँदै कति लाग्छ भन्ने जिज्ञासामा भने उनी थोरै झस्किएझै भएर भने ‘पहिले ब्रोकर खाता बनाउनुहोस् त्यसपछि मेरोसेयरको कति लाग्छ भन्छु ।’ यति भन्दै उनले ब्रोकर खाता खोल्ने भए कागजपत्र पठाउन र पैसा हाल्न भने ।
तर, टिएमएस खाता खोल्न त पैसा लाग्दैन होइन र भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘टिएमएस खाता खोल्न पैसा त लाग्दैन । तर, मैले तपाईंहरूलाई दिएको सेवा बापत्त रकम लिने गरेको छु । तपाईंले जुनसुकै ब्रोकर कम्पनीमा डिम्याट, मेरो सेयर र टिएमएस खाता खोल्न मिल्छ । आफू स्वयम् उपस्थित पनि भइरहनु पर्दैन ।’
उनले थपे ‘अहिले नै पैसा पर्दैन तपाईंको खाता खुलेपछि ई-सेवामा हाल्दिनु भए हुन्छ ।’
त्यस्तै, फर्म नेपाल डिम्याट ब्रोकर नामक फेसबुक पेजमा पनि ब्रोकर खाता खोल्न भन्दै विज्ञापन गरिएको थियो । सो पेजसँगको कुराकानीका क्रममा भने उनले ब्रोकर खाता खोलेको नेपाल भित्रबाट ३ सय रुपैयाँ लिने गरेको र विदेशबाट भए ५ सय रुपैयाँ लिने गरेको बताए । मेरो सेयर भने आफूहरूले हाल नबनाउने भन्दै पन्छिए ।
यी त केही उदाहरणहरू मात्रै हुन् । सामाजिक सञ्जालमा डिम्याट, ब्रोकर र मेरो सेयर खाता बनाइदिने भन्दै थुप्रै विज्ञापनहरू आउने गरेका छन् । तर, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन खाता भने सित्तैमा खोल्न मिल्छ । सो सुविधा सबै ब्रोकर कम्पनीले दिएका छन् । त्यतिमात्रै होइन जो कुनै ब्रोकरको आधिकारीक वेवसाइटमा गएर जुनसुकै स्थानबाट पनि सजिलै अनलाइन फारम भरेर खाता खोल्न सकिने सुविधा छ। तर, सामाजिक सञ्जालमा भएका यस्ता किसिमका विज्ञापनका कारण भने थुप्रै मानिसहरू ठगिने गरेका छन् ।
हाल नेपालमा डिम्याट खाता खोल्नको लागि १ सय रुपैयाँ लाग्छ भने मेरोसेयरको लागि ५० रुपैयाँ लाग्ने गरेको छ । त्यसै मेरो सेयर नवीकरण गर्नको लागी ५० रुपैयाँ लाग्ने गरेको छ । मेरो सेयर बनाउन भन्दै १२ सय रुपैयाँसम्म असुल्नु गैरकानुनी रहेको धितोपत्र बोर्डले बताएको छ ।
यसरी विज्ञापन गरेर खुलेआम पैसा कमाऊ धन्दा चलाउँदा समेत सम्बन्धित निकाय भने मौन देखिन्छ । सम्बन्धित निकायहरू भने यो विषयबारे थाहा नभएको बताउने गरेका छन् ।
धितोपत्र बोर्डका अनुसार कुनै पनि ब्रोकर कम्पनीहरूले टिएमएस खाता खोल्ने भन्दै विज्ञापन गर्न पाउँदैनन् । खासगरि यस्ता किसिमका विज्ञापन ब्रोकर कम्पनीहरूले भन्दा पनि तेस्रो व्यक्तिहरूले खुलेआम गरिरहेको पाइन्छ । बोर्डसँग सम्बन्धित कुनै पनि काम गर्न धितोपत्र बोर्डको अनुमति चाहिन्छ । धितोपत्र बोर्डको अनुमति प्राप्त संस्थाहरूले मात्रै धितोपत्रसँग सम्बन्धित कार्य गर्न पाउने व्यवस्था छ । बोर्डको अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले यस्तो विज्ञापन गर्नु गैर कानुनी भएको बोर्डले जनाएको छ ।
ब्रोकर संघका अनुसार यसरी विज्ञापन गर्न र पैसा असुल गर्नु गैरकानुनी हाे । धितोपत्र ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकाल भने हालसम्म यस्ता किसिमका गुनासाहरू संघमा नआएको बताउँछन् । यसरी खुलेआम विज्ञापन गरेर पैसा असुल्ने कुरा कानुन सम्वत नभएको उनी बताउँछन् ।
‘यो एकदमै गलत कार्य हो किनकि टिएमएस खाता खेले वापत्त पैसा लिन पाउने भन्ने व्यवस्था नै छैन,’ उनी भन्छन्, ‘अनलाइनबाटै सबै सुविधा दिनुपर्छ भनेर त हमीले ब्रोकरहरूलाई तागेता पनि गरिरहेको हुन्छौं । तर, यस्तो किसिमको गलत कार्य भइरहेको हामीले सुनेका छैनौं ।’
ब्रोकर कम्पनीहरूले छुट्टै एजेन्ट भनेर पनि राख्न नपाउने उनी बताउँछन् । उनी भन्छन्, ‘एजेन्ट राख्न पाउने भन्ने विषय पनि हाम्रो अहिलेको कानुनमा नै छैन यो त झनै गैरकानुनी विषय हो ।’
स्टक ब्रोकर एशोसिएसनका उपाध्यक्ष सरिता अधिकारी भने ब्रोकर खाता अनलाइनबाटै सजिलै खोल्न मिल्ने बताउँछिन् । ‘नयाँ पुरानो जतिपनि सबै ब्रोकरहरू हामी छौं, यहाँ त्यस्तो समस्या छैन । हामीले १ रुपैयाँ पनि नलिएर खाता खोल्ने गरेका छौं,’ उनी भन्छिन्, ‘कुनै कुनै कम्प्युटर इन्स्टिच्यूटहरूले चाँहि अनलाइ खाता खाेल्नुहुन्छ भनेर हामीले सुनेका छाैं तर कति शुल्क लिनुहुन्छ भन्ने हामीलाई थाहा हुने कुरा भएन ।’
संघमा आबद्ध ब्रोकरहरूले पनि एजेन्ट राखेर खाता नखोलाएको उनी दाबी गर्छिन् । उनी भन्छिन्, ‘त्यसरी खाता खोलीदेउ भनेर उहाँहरूसँग लिंक गर्ने काम हामीबाट भएको छैन र हुँदैन पनि । यो कानुन विपरीत हो ।’
एनएमबि क्यापिटलका सिईओ दिपेश कुमार वैद्यका अनुसार मेरो सेयर खोल्न आफूहरूले तोकिए अनुसार ५० रुपैयाँ मात्रै लिने गरेको बताए । ‘हाम्रोमा अनलाइनबाट मेरो सेयर खोल्ने व्यवस्था छैन, त्यसैले जोकोहीले मेरोसेयर बनाउन चाहनुहुन्छ भने व्यक्ति स्वयम नै उपस्थित हुनुपर्छ,’ उनी भन्छन्, ‘व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने भएपछि अन्य व्यक्तिले धेरै पैसा लिएर गरिदिने भन्ने कुरा त हामीकहाँ सम्भव नै छैन ।’
सामाजिक सञ्जालमा विज्ञापन गरेर मेरो सेयर खोलिदिने गिरोहबारे जानकारी नभएको उनले बताए । उनी भन्छन्, ‘हाम्रोमा त्यसरी अन्य कोही व्यक्ति मेरो सेयर खोलिदिन भन्दै आउनु भएको छैन र हामीले त्यसरी खोल्न दिने गरेको पनि छैनौं ।’
नेप्सेका प्रवक्ता मुराहरी पराजुली भने हालसम्म यस विषयबारे कुनै जानकारी नभएको बताउँछन् । सामाजिक सञ्जालमा यसरी खुलेआम विज्ञापन गरेर ठगी भइरहेकोबारे तपाईंहरूले केही चासो लिनुभएको छ कि छैन भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘अहिले त झन प्रतिष्पर्धाको समय छ, ब्रोकरहरू सबै काम अनलाइनबाट हुन्छ भनेर सुविधा दिइरहेको छन् । टिएमएस खाता खोले वापत्त बरु उल्टै अन्य थप सुविधाहरू पनि दिएको हुन्छन् । त्यसरी विज्ञापन गरेर ३०० देखि ५०० रुपैयाँसम्म तिरेर खाता खोल्ने भन्ने अवस्था त छ जस्तो लाग्दैन ।’
यो प्रतिष्पर्धाको समयमा पैसा लिएर खाता खोल्ने कुरा सजिलो नभएको उनी बताउँछन् । यस्ता किसिमका गुनासोहरू हालसम्म नआएको उनी जिकिर गर्छन् । ‘यस्ता किसिमका कार्य भइरहेको छन् भने प्रहरीलाई पनि खबर गर्नुपर्छ यो त ठगी हो,’ उनी भन्छन्, ‘नियममा नै नभएको कुरा गर्न पाउँदैन ।’
सामाजिक सञ्जालमा विज्ञापन गरेर खुलेआम पैसा असुल्ने कार्य गैरकानुनी भएको उनी बताउँछन् । यद्यपि यो विषयबारे हालसम्म कुनै पनि गुनासो वा उजुरी नपरेकोले यस्ता कार्य भइरहेकोबारे जानकारी नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘जानकारी नै नभएपछि उनीहरूलाई निगरानी गर्ने, कारबाही गर्ने लगायतका कार्य हुने कुरै भएन ।’
यसरी खाता खोलिदिने विज्ञापन गर्नेहरूले भने हरेक दुई वा तीन घण्टमा पनि दोहोर्याइ तेहेर्याइ विज्ञापन गर्ने गरेका छन् । खास गरेर विदेशमा रहेका नेपालीहरू यस्ता किसिमका विज्ञापनबाट धेरै ठगिने गरेका छन् । आफू उपस्थित हुन नपर्ने भएपछि सजिलै उनीहरूले पैसा दिएर खाता खोल्ने गरेको पाइएको छ । तर, यसरी खाता खोल्नेहरूमा टिएमएस खाता खोलिदिने गरेको भए पनि मेरो सेयर बापत्तको रकम भने लिएपछि फरार हुने गरेको गुनासो उनीहरूको छ ।
हाल नेपालमा जुनसुकै ब्रोकरकोमा खाता खोलेपनि निःशुल्क खोल्न पाउने व्यवस्था छ । त्यस्तै, डिम्याट खाताको लागी १०० रुपैयाँ बैंकमा गएर बुझाउनुपर्ने हुन्छ भने मेरो सेयरको लागि ५० रुपैयाँ बुझाउनुपर्ने हुन्छ । मेरो सेयर हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ, जसको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेकाे छ ।