फर्ष्ट माइक्रोफाइनान्सको ७.५० प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको ७.५० प्रतिशत अर्थात ८ लाख ६० हजार ८०९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
रिडी पावरको ५० प्रतिशत हकप्रद खुल्यो, पुँजी २ अर्ब ३२ करोड नाघ्ने
काठमाडौं । रिडी पावर कम्पनीले आज फागुन १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँको ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको पुँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुग्नेछ । जसबाट संकलन भएको रकमले तल्लो बलेफि जलविद्युत आयोजनामा लगानी कम्पनीले जनाएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ माघ २२ गते बुक क्लोज गरेको थियो । त्यसैले माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
२८ अंकले घट्यो बिहीबारको सेयर बजार, सबै समूह राताम्मे
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २८ अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक कारोबार बन्द हुँदा २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार भने बुधबारको तुलनामा बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएको बजारमा बिहीबार २ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३०९ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । बोटलर्स नेपाल (बालाजु) को १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता २१ हजार ६०५ र ७५८ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । राताम्मे देखिएको बिहीबारको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३५०.९० रुपैयाँमा झरेको छ ।