काठमाडौं । नयाँ बन्ने सरकारसँग सेयर लगानीकर्ता पनि उत्साहित बनेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।
आइतबार सेयर बजारको पहिलो दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर २२५०.८३ बिन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ४६.२१ अंकले बढेर २२५०.८३ बिन्दुमा पुगेको हो । जुन दुई वर्षयताकै उच्च बिन्दु हो ।
याे अवधिसम्म सेयर बजारमा कुल १ करोड ४० लाख २ हजार बढी कित्ता सेयर खरिदबिक्रीबाट कुल ३ अर्ब ३५ करोड २१ लाख ७४ हजार बढीको काराेबार भएको छ ।
नयाँ गठबन्धन बनाउने भनेर काँग्रेस र एमालेको सहमति भएको दिनको अर्को दिन अर्थात् असार १७ गतेको कारोबारमा पनि सेयर बजार उच्च अंकले बढेको थियो । सो दिन सेयर बजारमा सकारात्मक सर्किट लागेको थियो ।
नयाँ बन्ने गठबन्धनको सरकारमा विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा पनि छ । अर्थमन्त्री पौडेललाई बजारले जहिल्यै स्वागत गर्ने गरेको छ । पौडेल पनि बजारप्रति उदार मन्त्रीका रुपमा लगानीकर्ताले लिने गरेका छन् ।