नेप्सेमा सरकारका दुई विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल सरकारका दुई वटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । (एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले उक्त विकास ऋणपत्रहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ८ अनुसार सूचीकृत गरेको जनाएको छ ।
नेपालकै पहिलो दन्त अस्पताल नेशनल डेन्टलले हकप्रद सेयर बेच्दै
काठमाडौं । नेपालको पहिलो दन्त अस्पताल नेशनल डेन्टल हस्पिटलले हकप्रद सेयर बिक्री गर्ने भएको छ । नेशनल डेन्टलले जगेडामा रहेको १ लाख बढी कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । नेशनल डेन्टल हस्पिटलको वि.सं २०८० असोज १३ गते सम्पन्न साधारण सभाले तत्काल कायम सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीको हकप्रद सेयर बिक्री खुला गरिएको थियो । तर, कम्पनीका सेयरधनीहरूले १ लाख ४ हजार ७७६ कित्ता सेयर खरिद नगरी बाँकी रहेको छ । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीको एभरेष्ट बैंकको लाजिम्पाट शाखामा रहेको बैंक खातामा रकम जम्मा गरी सेयर खरिद गर्न सक्ने बताइएको छ ।
सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गर्ने
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४ कित्ता सेयर निष्काशन गर्ने भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गर्ने भएको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि साउन १८ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत् खरिद आवेदन दिन सक्नेछन् ।