अर्थमन्त्रीले सेयर बजारलाई अर्थतन्त्रको ऐना भनेपछि ९ अर्ब बढीको कारोबार, दर्जन कम्पनीमा सर्किट

<p>काठमाडौं । नयाँ सरकार गठन भएको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ जना मन्त्रीहरूले सपथ लिएका थिए । ओली नेतृत्वको सरकारका नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिएको बताएपछि लगानीकर्ता उत्साहित भएका छन् । साथै विगतमा पनि पौडेल अर्थमन्त्री हुँदा पुँजी बजार [&hellip;]</p>

काठमाडौं । नयाँ सरकार गठन भएको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ जना मन्त्रीहरूले सपथ लिएका थिए । ओली नेतृत्वको सरकारका नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिएको बताएपछि लगानीकर्ता उत्साहित भएका छन् । साथै विगतमा पनि पौडेल अर्थमन्त्री हुँदा पुँजी बजार सकारात्मक लयमा थियो । यसपटक पनि उनी अर्थमन्त्री हुने चर्चासँगै पुँजी बजार उकालो यात्रामा छ ।

अहिले पुँजी बजारमैत्री अर्थमन्त्री पाएको भन्दै लगानीकर्ता उत्साहित भएको मंगलबारको सेयर बजारले पनि प्रस्ट हुन्छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अंकमा पुगेको हो । साढे २ वर्षपछि नेप्से परिसूचकले २३ सय अंक पार गरेको हो ।

मंगलबार २३४ कम्पनीको सेयर मूल्य बढ्दा एक दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, बरूण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । यस्तै सिक्लेस हाइड्रो, सिंगटी हाइड्रो, रिडी पावर कम्पनी, अरूण भ्याली हाइड्रो, इङ्ग्वा हाइड्रो, अपि पावर कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेको छ ।

मंगलबार दिनभरिमा ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार कित्ता सेयर १ करोड १९ लाख बढी पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज न्याङ्दी ग्रुप पावरको सर्वाधिक २१ करोड ७७ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड २७ लाख रुपैयाँ, अपि पावरको १७ करोड ९३ लाख रुपैयाँ, जानकी फाइनान्सको १७ करोड १७ लाख रुपैयाँ र अरूण भ्यालीको १६ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अर्थमन्त्री पौडेलले सोमबार पदभार ग्रहण गर्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र सहज नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए । सेयर बजार सन्तुलित ढंगले अघि बढाउने र लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनको भनाइ छ ।

साथै साउन महिनाका लागि बैंक तथा वित्तीय संस्थाहरूका ब्याजदर घटेका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको बुझिएको छ ।

Share News