बजार प्रवेश गरे ठूला लगानीकर्ता, एकैदिन १२ अर्ब बढीको कारोबार

<p>काठमाडौं । सेयर बजार निरन्तर उकालो लागेपछि ठूला लगानीकर्ताहरू पुँजी बजार प्रवेश गर्न थालेका छन् । पछिल्ला दिनहरूमा भइरहेको कारोबारले पुँजी बजारमा ठूला लगानीकर्ताहरू प्रवेश गरेको अनुमान लगाउन सकिने सेयर बजार जानकारहरू बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेदेखि पुँजी बजारमा रौनकता छाउन थालेको छ । बुधबार [&hellip;]</p>

काठमाडौं । सेयर बजार निरन्तर उकालो लागेपछि ठूला लगानीकर्ताहरू पुँजी बजार प्रवेश गर्न थालेका छन् । पछिल्ला दिनहरूमा भइरहेको कारोबारले पुँजी बजारमा ठूला लगानीकर्ताहरू प्रवेश गरेको अनुमान लगाउन सकिने सेयर बजार जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेदेखि पुँजी बजारमा रौनकता छाउन थालेको छ । बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १ करोड ४९ लाख ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि मंगलबार ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

विगतमा १ अर्बको कारोबार हुन धौंधौं पर्ने पुँजी बजारमा दैनिक १०अर्ब बढीको कारोबार हुन थालेको छ । बजारले बुलको लय समातेपछि ठूला भनिएका लगानीकर्ताहरू पनि सलवलाउन थालेको सेयर बजार जानकारहरू बताउँछन् । टर्नओभरलाई हेर्ने हो भने सेयर बजारमा ठूला लगानीकर्ताहरूको प्रवेश भएको संकेत देखिएको एक लगानीकर्ताले विकासन्युजसँग बताए ।

‘पुँजी बजारमा माहोल राम्रो छ, बजार अझै बढ्ने देखिन्छ, बजारले सबै सप्लाइलाई खाइदिएको छ, टर्नओभरले बजारमा धेरै उत्साह छाएको छ, यो टर्नओभर हेर्दा बजारमा ठूला लगानीकर्ताहरूको प्रवेश भएको संकेत गर्छ,’ उनले भने, ‘क्यास होल्ड गरेका र ऋण लिएर लगानी गर्ने लगानीकर्ताहरू बजारमा प्रवेश गर्नु भएको हो ।’

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ अकंमा पुगेर बन्द भएको छ । यसअघि हिजो मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अंकमा पुगेको थियो ।

आज दिनभरिमा २०४ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य भने घटेको छ । सेन्ट्रल फाइनान्सको सेयर मूल्य प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । सिंगटीको सेयर मूल्य ९.९७ प्रतिशत र आँखुखोलाको सेयर मूल्य ९.९५ प्रतिशत सेयर मूल्य बढेको छ ।

यस्तै सिंगटी हाइड्रोको सेयर सर्वाधिक कारोबरा भएको छ । यस कम्पनीको २३ करोड ५५ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्टको २२ करोड ७१ लाख रुपैयाँ, सोनापुर मिनिरल्सको २० करोड ३५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोको २० करोड २७ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोका १९ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार बैंकिङ समूह २.०८ प्रतिशत, विकास बैंक समूह ४.०९ प्रतिशत, फाइनान्स समूह ५.५० प्रतिशत, होटल तथा पर्यटन समूह ५.५५ प्रतिशत, जलविद्युत समूह १.७१ प्रतिशत, लगानी समूह १.५३ प्रतिशत, जीवन बीमा समूह २.१८ प्रतिशत, म्यानुफ्याक्चरिङ समूह ३.०२ प्रतिशत, लघुवित्त समूह १.८४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०८ प्रतिशत, निर्जीवन बीमा समूह ३.३४ प्रतिशत, अन्य समूह १.३६ प्रतिशत र ट्रेडिङ समूह ७.३० प्रतिशत बढेको नेप्सेल जनाएको छ ।

बजारमा लगानीकर्ताको मनोबल बढेकाले बजार सकारात्मक बाटोमा गइरहेको र राष्ट्र बैंकले मौद्रिक नीतिमा लचिलोपना अपनाउने चाल पाएकाले पनि बजार निरन्तर उकालो लागेको लगानीकर्ताहरूको भनाइ छ ।

Share News