नेप्से ५८.५८ अंकले बढ्यो, ४ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर नेप्से परिसूचक ५८.५८ अंकले बढेर २,१११ अंकमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । कुल २ सय २० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै ५.४४ प्रतिशत तथा माइक्रोफाइनान्स समूहको ५.०५ प्रतिशतले बढेको छ । धेरै मूल्य बढेका कम्पनीमा माइक्रोफाइनान्सहरू छन् । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य, विन नेपाल, स्वाभिमान, जाल्पा लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । यस्तै, हिमालयन ८०.२० को सेयर मूल्य ३.५७ र मोलुङ हाइड्रोपावर कम्पनीको २.५३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, सननेपाल लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र माउन्टेन इनर्जी क्रमशः अगाडि छन् ।
संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र सेयर बिक्री गर्न लागेको हो । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । उक्त सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारण सभाले संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक समूहका सेयरधनीतर्फको रिक्त रहेको पदमा रोहित गुप्ता नियुक्त भएका छन् । उनी टेली डिरेक्ट प्रा.लि.को तर्फबाट बाँकी कार्याकालको लागि नियुक्त भएका हुन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट राजीव मोर र शुभेच्छा खरेल नियुक्त भएका छन् । उनीहरुलाई ४ वर्षको लागि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जानकारी गराएको छ ।