आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १.५ सेयर (१ः१.५) को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत साउन १ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले भदौ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंकको धादिङ शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।
ओटीसी बजारमा ९९ कम्पनीको ५ अर्ब बढी कारोबार, वर्ल्डलिंकको सेयर मूल्य ९ हजार ३७५ रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओटीसी मार्केटमा गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ९९ कम्पनीको ५ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । नेप्सेले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षमा ओटीसी मार्केटमा ९९ कम्पनीको ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । ती कम्पनीको कुल ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत नभएका कम्पनीहरूको सेयर कारोबार ओटीसी बजारमा हुने गरेको छ । गत वर्ष सबैभन्दा महँगो मूल्यमा वर्ल्डलिंक कम्युनिकेसनको सेयर कारोबार भएको छ । गत वर्ष यस कम्पनीको सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा १३ हजार ३ सय ९२ कित्ता सेयर १२ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै गत वर्ष लर्ड बुद्ध एजुकेसन एकेडेमीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १२ लाख ४ हजार ५८३ कित्ता सेयर प्रतिकित्ता ५४० रुपैयाँमा खरिदबिक्री हुँदा ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँमा कारोबार भएको नेप्सेको भनाइ छ । यस्तै गत वर्ष ओटीसी बजारमा आइएमई डिजिटल सोलुसन्सको सबैभन्दा धेरै ३९ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १३६ रुपैयाँमा ४० करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेले वि.सं २०६४ सालदेखि ओटीसी मार्केट सञ्चालनमा गरिरहेको छ । वि.सं २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरू पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार हुने गर्छ । हालसम्म ओटीसी मार्केटमा २४४ वटा कम्पनी दर्ता भई कारोबार भइरहेका छन् । [pdf id=499267]
सूर्योदय वोमी लघुवित्तको एफपीओमा २ अर्ब ३८ करोड रुपैयाँ संकलन, कतिले दिए आवेदन ?
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । लघुवित्तको एफपीओमा मंगलबार अन्तिमदिनसम्म १६ लाख ५६ हजार ८२६ जना लगानीकर्ताले २ करोड ३८ लाख ३७ हजार ९ सय कित्ताका लागि २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । उक्त आवेदन लघुवित्तले माग गरेको भन्दा ५१० गुणा बढी हो । लघुवित्तले साउन ४ गतेदेखि आज साउन ८ गतेसम्म ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७२९ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गरेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचनामा संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गरेको हो । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।