दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब ६२ करोड बढीको कारोबार

काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा पुगेको छ । सोमबार ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । यस्तै, ३१७ वटा कम्पनीको १ करोड १५ लाख सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनआरएनको ३५ करोड २७ लाख रुपैयाँ बढीको करोबार भएको छ । हिमालयन डिस्टीलरीको २७ करोड ९१ लाख रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको १२ करोड, ४६ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको ११ करोड १७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्सको १० करोड ३५ लाख रुपैयाँ बढीको करोबार भएको छ । साथै, आज ५ वटा उपसमूह बाहेक अरू सबै राताम्मे रहेका छन् । फाइनान्स उपसमूहको ०.०५ प्रतिशत, लगानी उपसमूहको ०.७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.०६ प्रतिशत, म्युचल फन्डको ०.१४ प्रतिशत र अन्य उपसमूह ०.११ प्रतिशतले बढेको छ । सोमबार श्वाभिमान लघुवित्तमा नकारात्मक सर्किट लागेको छ ।

ह्याविट्याट पावरले माग्यो आईपीओको अनुमति

काठमाडाैं । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्काशनको माग गर्दै बोर्डमा निवेदन दिएको हो । आईपीओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रुपमा चयन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोडको २० प्रतिशत अर्थात ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ । ह्याविट्याट पावर कम्पनीले पाँचथर जिल्लामा ९.९ मेवा क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र यहि आवको चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। कम्पनीका अनुसार आयोजनाको प्रति मे।वा। लागत रु १९ करोड मात्र रहेको छ ।

२० प्रतिशत लाभांश वितरण गर्ने हिमालयन डिष्टिलरीको घोषणा

काठमाडौं । हिमालयन डिष्टिलरी लमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १५ प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।