लोअर इर्खुवाको बिक्री नभएको आईपीओ नागरिक लगानी कोषले किन्ने

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् । इर्खुवा हाइड्रोले प्रति सेयर १ सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ । प्रत्याभुतिकर्ताको सम्झौताअनुसार यदी सबै सेयर बिक्री नभएमा लोअर इर्खुवाको सेयर नागरिक लगानी कोषले खरिद गर्नुपर्नेछ ।

एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ ।

सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।