लगानीकर्ताको रोजाइबाट बाहिरियो नेपाल फाइनान्स, खरिदकर्ता शून्य

काठमाडौं । केही दिनअघिसम्म निरन्तर सकारात्म सर्किट लागिरहेको नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा आइतबार नकारात्मक सर्किट लागेको छ । वित्तीय विवरण कमजोर रहँदा पनि निरन्तर सकारात्मक सकिर्ट लागेको कम्पनीको आइतबार भने बारोबार सुरु भएको एक घण्टामै नकारात्कम सर्किट लागेको हाे । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । दोस्रो बजारजमा कम्पनीको १ लाख ३७ हजार कित्ता सेयर बिक्रीका लागि राखिएको थियो । तर, खरिदकर्ता भने शून्य छन् ।  लगानीकर्ताहरूको रोजाइबाट नेपाल फाइनान्स क्रमश बाहिरिदै गएको देख्न सकिन्छ । गत वर्ष फाइनान्सले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीकाे गत असारसम्म प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको छ । त्यस्तै पिई रेसियो ३६०.१५ रहेको छ ।

नेशलन हाइड्रोपावरको नाफा साढे २ करोड ऋणात्मक

काठमाडौं । नेशलन हाइड्रोपावर कम्पनीको गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासमा खुद नाफा २ करोड ४९ लाख रुपैयाँ ऋणात्म रहेको छ । अघिल्लो वर्ष ४ करोड ८३ लाख रुपैयाँ नाफा गरेको कम्पनी गत वर्ष भने नोक्सानीमा गएको हो । गत असारसम्म कम्पनीको कुल नाफा ७७ लाख ५६ हजार रुपैयाँ रहेको छ । जबकी अघिल्लो वर्ष कम्पनीको कुल नाफा २ करोड ३ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष ४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष भने घटेर ४ करोड २ लाख रुपैयाँ मात्रै गरेको छ । कम्पनीको सञ्चालन नाफा ७० लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । अघिल्लो वर्ष ७२ लाख ३४ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ६२ लाख ७२ हजार रुपैयाँ गरेको छ । २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष जगेडा कोष ९८ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा छ । सेयर प्रिमियममा भने १ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १६१.०६ गुणा ऋणात्मक छ ।

सामाजिक सञ्जालबाट सेयर किनबेच गर्न उत्साहित गराउनेलाई धितोपत्र बोर्डले कारबाही गर्ने

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरू खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउनेलाई कारबाही गर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डले एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो । सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनाधिकृत तवरले अन्तर्वार्ता तथा अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरीहरू प्राप्त भएको बोर्डले जनाएको छ । सूचनामा भनिएको छ, ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ, सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँछौं ।’ निश्चित सेयर खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न, नगराउन र त्यस्ता कार्य रोक्न बोर्डले जनाएको छ । यस्ता किसिमका काम कारबाहीका सम्बन्धमा बोर्डले सुक्ष्म निगरानी गरिरहेको समेत जनाएको छ । साथै कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न बोर्डले अनुरोध गरेको छ ।