नेप्सेमा ४५ अंकको गिरावट, ७ अर्ब ४६ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ४५ दशमलव ९३ अंकले घटेर २६८९.०० बिन्दुमा कायम भएको छ । आज ३२१ स्टकको ८१ हजार ४०४ पटक कारोबारमा एक करोड ७३ लाख ९२ हजार २४४ सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै उपसमूह राताम्ये भएका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनीको ३.०७ प्रतिशतले घटेका छन् । त्यस्तै, व्यापार २.१३, लगानी १.३३, वित्त १.८४, बैंकिङ १.८६, विकास बैंक १.०४, होटल तथा पर्यटन १.८१ प्रतिशतले घटेको छ । आज खानीखोला हाइड्रोपारको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै दोल्टी पावर ८.७७ प्रतिशतले बढेको छ । आज मानुषी लघुवित्त, जीवन बीमा, जोशी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगाकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्राक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार कारोबार भएको छ । दोस्रोमा नेपाल फाइनान्स लिमिटेडको १५ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिभर फल्स पावर १५ करोड ६५ लाख, खानीखोला हाइड्रोपवार १३ करोड ७८ लाख र बेस्ट फाइनान्सको १२ करोड ९९ लाखको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

लोअर इर्खुवाको बिक्री नभएको आईपीओ नागरिक लगानी कोषले किन्ने

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् । इर्खुवा हाइड्रोले प्रति सेयर १ सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ । प्रत्याभुतिकर्ताको सम्झौताअनुसार यदी सबै सेयर बिक्री नभएमा लोअर इर्खुवाको सेयर नागरिक लगानी कोषले खरिद गर्नुपर्नेछ ।

एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ ।