नेशनल लघुवित्तको एघारौं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको राष्ट्रिय स्तरको नेशनल लघुवित्तको एघारौं वार्षिक साधारणसभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते साेमबार सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आव २०८०/०८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सभाले आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको वित्तीय विवरणहरू पारित गरेको छ । २०७१ सालमा स्थापना भएको नेशनल माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्थासँग मर्जर गरी बनेको नेशनल लघुवित्त वित्तीय संस्था एघारौ वर्षमा प्रवेश गरी २०८१ असोज सम्ममा देशका सात वटै प्रदेशका ७४ जिल्लामा १८४ वटा शाखा कार्यालय मार्फत २ लाख ३३ हजार विपन्न परिवार मध्ये १ लाख १२ हजार ऋणीहरूलाई २२ अर्ब रुपैयाँ कर्जा र करिव ६ अर्ब बचत परिचालन गर्न सफल भएको छ । सभाले ७,६५,३७७ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमबाट सेयर जारी गर्नका लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । संस्थाले ग्राहकको हक हितलाई संरक्षण र सम्बद्र्धन गर्दै उद्यमशिलता विकाश, वित्तीय साक्षरता र प्रविधिको उच्चतम प्रयोगमा विशेष जोड दिदै अगाडि बढ्ने योजना रहेको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताए ।
दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब ६२ करोड बढीको कारोबार
काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा पुगेको छ । सोमबार ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । यस्तै, ३१७ वटा कम्पनीको १ करोड १५ लाख सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनआरएनको ३५ करोड २७ लाख रुपैयाँ बढीको करोबार भएको छ । हिमालयन डिस्टीलरीको २७ करोड ९१ लाख रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको १२ करोड, ४६ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको ११ करोड १७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्सको १० करोड ३५ लाख रुपैयाँ बढीको करोबार भएको छ । साथै, आज ५ वटा उपसमूह बाहेक अरू सबै राताम्मे रहेका छन् । फाइनान्स उपसमूहको ०.०५ प्रतिशत, लगानी उपसमूहको ०.७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.०६ प्रतिशत, म्युचल फन्डको ०.१४ प्रतिशत र अन्य उपसमूह ०.११ प्रतिशतले बढेको छ । सोमबार श्वाभिमान लघुवित्तमा नकारात्मक सर्किट लागेको छ ।
ह्याविट्याट पावरले माग्यो आईपीओको अनुमति
काठमाडाैं । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्काशनको माग गर्दै बोर्डमा निवेदन दिएको हो । आईपीओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रुपमा चयन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोडको २० प्रतिशत अर्थात ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ । ह्याविट्याट पावर कम्पनीले पाँचथर जिल्लामा ९.९ मेवा क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र यहि आवको चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। कम्पनीका अनुसार आयोजनाको प्रति मे।वा। लागत रु १९ करोड मात्र रहेको छ ।