एनआईसी एशिया लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । योसँगै सेयरधनीहरूको हात खाली हुने भएको छ । पुस १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

गार्डियन माइक्रोको आईपीओ बिक्री खुला, १ लाख कित्ता आवेदन दिन पाइने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आज पुस २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेर बाँडफाँटपश्चात् कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा पुस २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा माघ १० गतेसम्म समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

दाउन्ने एग्रो फार्मले १० करोडको सेयर जारी गर्दै

चितवन । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोड रुपैयाँको सर्वसाधारणका लागि ‘सेयर’ (आइपीओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले १० करोड रुपैयाँको आईपिओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता-त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका-३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पु¥याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए । कुखुरापालन क्षेत्रमा आइपिओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिका सञ्चालक सदस्यहरुमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहनु प्रबन्ध सञ्चालक विनोद पोखरेलले जानकारी दिए । विसं २०७४ मा स्थापना भएको यस कम्पनीमा सुरुआतमा एक लाख कुखुरापालन गरिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार फार्ममा हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । उत्पादित अण्डामध्ये केहीलाई ‘दाउन्ने ह्याप्पी एग’को ब्रान्डमा ब्रान्डिङ गरी १५ वटा र ३० वटाका दरले क्रेट बनाएर बजारमा पठाउने गरिएको प्रबन्ध सञ्चालक पोखरेलले जानकारी दिए । यहाँ उत्पादित अण्डा देशका प्रमुख सहरहरुसँगै ग्रामीण क्षेत्रमा समेत पठाइने गरिएको छ । प्रबन्ध सञ्चालक पोखरेलका अनुसार दाउन्नेको फार्ममा जर्मन र मलेसियाबाट आयात गरिएका स्वचालित एवं अत्याधुनिक उपकरण जडान गरिएका छन् । उनले भने, ‘अत्याधुनिक तवरबाट कुखुरापालन गरिएकाले अण्डा तथा मासुको उत्पादन राम्रो छ, अहिलेलाई बजारको समस्या छैन, यसलाई अझ विस्तार गरी देशकै उत्कृष्ट एवं व्यावसायिक एग्रो फार्मका रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ, सात वर्षको हाम्रो अनुभव र परिणामबाट सफल हुने विश्वास लिएका छौँ ।’ नेपालमा लामो समयसम्म कुखुरापालन क्षेत्रमा अनुभव सँगालेका कृषक तथा व्यवसायीहरुको लगानीमा यो कम्पनी स्थापना भएको अध्यक्ष भट्टले जानकारी दिए । यहाँका लगानीकर्ताहरुको पोल्ट्रीसँग सम्बन्धित विभिन्न उद्योगहरुमा समेत लगानी रहेको छ । जसका कारण लागत मूल्य घटाउन र गुणस्तरीय अण्डा उत्पादन गर्न सफल भएको अध्यक्ष भट्ट बताउँछन् । नेपालमा तुलनात्मक रुपमा ठूलो सङ्ख्यामा कुखुरापालन गर्ने ‘एग्रो फार्म’ पहिलो कम्पनी भएको र सेयर निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग कम्पनीले सम्झौता गरिसकेको प्रबन्ध सञ्चालक पोखरेलले बताए ।