१८ अंकले घटेको सेयर बजारमा ७ अर्ब बढीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३०८ कम्पनीको १ करोड ५७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सुपर म्यादी हाइड्रोपावरको भएको छ । सुपरको ४४ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीनर्जी पावर डेभलपमेन्टको २८ करोड ३२ लाख, सीन्धु विकास बैंकको २५ करोड २४ लाख, हिमालयन पावर पाटनरको १९ करोड ८५ लाख र एनआरएन इन्फ्राइस्ट्रक्चरको १७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
महुली लघुवित्तले लाभांश नदिने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ । साथै, पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश जारी गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने र आगामी वार्षिक साधारणसभामा पारितका लागि पेस गर्ने निर्णय समेत गरेको छ ।