आज सेयरधनी बने यी ४ कम्पनीको लाभांश पाइने, कुनको कति छ ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल), सर्वोत्तम सिमेन्टले पुस १२ गते र सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सल पुस १४ गते आइतबार बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ४ कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । एचआइडिसिएलले चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २४ गते १३औँ वार्षिक साधारण सभा काठमाडौंमा बिहान १० बजे डाकेको छ । यस्तै, सर्वोत्तम सिमेन्टले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २६ गते रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । सिद्धार्थ बैंक चुक्ता पुँजीको कर सहित ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते काठमाडौंमा २३ औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे डाकेको छ । ग्रीन भेन्चर्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते काठमाडौंमा छैटौंँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।
गरिमा समृद्धि योजना खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । गरिमा क्यापिटलको म्युचुल फण्डमा आवेदन दिने आज पुस ११ गथे अन्तिम दिन रहेको छ । पुस ७ गतेदेखि बिक्री खुला गरेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजनामा आवेदन दिने आज अन्तिम दिन हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ । फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासनको स्वीकृति
काठमाडौं । नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ । बोर्डले कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो । कम्पनीले कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ । हकप्रद निष्कासनबाट कम्पनीले करिब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ । निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनुपर्ने नियामकीय प्रावधानअनुरुप कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ छ ।