नेप्सेको सीईओ बने नारद लुइँटेल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुइँटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको हो । उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् । नेप्सेको सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको थियो । छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थमन्त्रालयमा बोलाएको थियो । व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरेको थियो ।

धितोपत्र बोर्डले बढायो मर्चेन्ट बैंकरको अण्डरराइटिङ सीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर)हरूको धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ)को सीमा बढाएको छ । बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ को अुनसूचीमा भएका व्यवस्थालाई संशोधन गर्दै अण्डरराइटिङको सीमा बढाएको हो । मर्चेन्ट बैंकरहरूले संगठित संस्थासँग सम्झौता गरी संगठित संस्थाले निष्काशन गरेको धितोपत्रहरु बिक्री नभएको अवस्थामा त्यस्तो धितोपत्रहरु स्वीकार गरी धितोपत्रको मूल्य भुक्तानी गर्ने लगायत प्रत्याभूति सम्बन्धी अन्य कार्य गर्न पाउँछन् । बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीको सहायक कम्पनी र त्यस्तो कम्पनीको मुख्य कम्पनीबीच मुख्य कम्पनीले दायित्व सकार्ने गरी करार सम्झौता भए मुख्य कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिमको नेटवर्थमा नबढ्ने गरी मर्चेन्ट बैंकरले प्रत्याभूति गर्न सक्ने संशोधित नियमावलीमा उल्लेख गरिएको छ । बोर्डका अनुसार बैंकको सहायक कम्पनीको रूपमा स्थापना भएका मर्चेन्ट बैंकर कम्पनीहरूले माउ कम्पनीको नेटवर्थसम्मको अन्डरराइटिङ गर्ने सक्नेछन् । हाल मर्चेन्ट बैंकरले आफ्नो नेटवर्थको ३ गुणासम्म मात्रै अन्डरराइटिङ गर्नसक्ने व्यवस्था रहेकोमा अब मुख्य कम्पनीको पनि नेटवर्थसम्म अन्डरराइटिङ गर्न पाउनेछन् ।  

३० अंकले बढ्यो सेयर बजार, २१० कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । लागातार घटिरहेको सेयर बजार ६ वटा कारोबार पछि आज बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० बिन्दुमा पुगेको छ । आज २१० कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ । सोमबार ३२६ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीइडीबी होल्डीङसको १५ करोड, नेपाल रिइन्स्योरेन्सको १२ करोड, गर्डियन माइक्रोलाइफको १२ करोड र सिन्धु विकास बैंकको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेकाे छ । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशतले बढेकाे छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले बढेकाे छ । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२  प्रतिशतले बढेकाे छ । यस्तै, अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशतले सेयर मूल्य घटेकाे छ ।