आजसम्म सेयरधनी बने नेशनल लाइफ र एनएलजीको लाभांश पाउने, बरुण हाइड्रोको हकप्रद सेयर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश र बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स, हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बरुण हाइड्रोपावरले भोलि जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले नेशनल र एनएलजीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्ने छन् भने बरुणको हकप्रद सेयर खरिद गर्न पाउने छन् ।  नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँको ५ प्रतिशतका दरले २६ करोड ६ लाख ६ हजार रुपैयाँ बोनस सेयर, १० प्रतिशतका दरले ५२ करोड १२ लाख १३ हजार रुपैयाँ नगद र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार रुपैयाँ गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ३७ औँ वार्षिक साधारण सभा असार ५ गते काठमाडौंमा बिहान साढे १० बजे आह्वान गरेको छ ।  यस्तै, एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँको २.५० प्रतिशतका दरले ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशतका दरले ३२ लाख ९२ हजार रुपैयाँ नगद गरी कुल २.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न जेठ २९ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा बोलाएको छ ।  यस्तै, बरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।  

सेबोन अध्यक्ष श्रेष्ठसँग लगानीकर्ताहरूको भेट, लगानीमैत्री बजारको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग तीनवटा लगानीकर्ता संघ संस्था सेयर लगानीकर्ता संघ, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघले संयुक्त रूपमा भेट गरी पुँजी बजार सुधारका लागि ठोस पहल गर्न आग्रह गरेका छन् । तीनै संघका पदाधिकारीले अध्यक्ष श्रेष्ठबाट पुँजी बजारमा पारदर्शिता, नियमन सुदृढीकरण तथा लगानीमैत्री वातावरण निर्माणमा सुधार हुने विश्वास गरे । संघहरूका प्रतिनिधिहरू  सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल, पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं, स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्की र नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले पुँजी बजारको दीर्घकालीन विकास र लगानीकर्ताको हितका लागि सेबोनले सुरु गरेका पहलहरूप्रति सकारात्मक प्रतिक्रिया दिँदै पूर्ण समर्थन जनाए  । उनीहरूले पुँजी बजारलाई देशको आर्थिक मेरुदण्डको रूपमा विकास गर्न सन्तुलित नीति, प्रविधिको प्रभावकारी प्रयोग र सुदृढ नियमन प्रणाली आवश्यक रहेको बताए । आईपीओ निष्कासन प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्ने, कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूको प्राथमिक निष्कासन प्रस्ताव पुनरावलोकन गर्नुपर्ने, हाइड्रोपावरलगायत परियोजनामा संस्थापक सेयर बिक्रीको अनियन्त्रित प्रवृत्तिमा रोक लगाउनुपर्ने माग गरेको लगानीकर्ता रौनियारले बताए । सेयर बजारमा भइरहेको सूचनाको दुरुपयोग र अन्य अनैतिक क्रियाकलापमा कडाइ गर्नुपर्ने, निजी क्षेत्रको सहकार्यमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्दा नियमन र सुपरीवेक्षण प्रणाली मजबुत बनाउनुपर्ने सुझाव दिएको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले लगानीकर्ताहरूको धारणापछि बोर्ड लगानीकर्ताको विश्वास जित्न सक्ने वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताए । उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनामार्फत पुँजी बजार सुधार र विस्तारमा काम अघि बढाइने जानकारी गराएका छन् । संघ-संस्थाहरूले सेबोनको नेतृत्वले नयाँ दिशा दिने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार नीति निर्माणमा समेत सहकार्य गर्न तयार रहेको पनि बताए ।  

दरमखोला हाइड्रो इनर्जीले पायो आईपीओ निष्काशन गर्न स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनका लागि विवरणपत्र प्रकाशनको स्वीकृति दिएको हो । धितोपत्र ऐन, २०६३ को दफा ३० को उपदफा (१) बमोजिम प्राप्त स्वीकृतिपछि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो । यस आईपीओको विक्रि प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि, कम्पनीले नियमानुसार आगामी केही दिनमै शेयर निष्काशनको मिति, आवेदन प्रक्रिया, फर्म वितरण, बाँडफाँड विधि लगायतका विवरण सार्वजनिक सूचनामार्फत जानकारी गराउनेछ ।