हिमालयन एभरेष्टको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।
सेयर बजारमा ८ अर्बको कारोबार, महालक्ष्मी विकास बैंकमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा झरेको छ । यो सहित लगातार सातौं दिन सेयर बजार घटेको छ । आज ३२ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवतन भएको छैन । मंगलबार ३०३ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५८ करोड रुपैयाँको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको ५३ करोड, महालक्ष्मी विकास बैंकको ४३ करोड, गार्डियन माइक्रो लाइफको ३७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको ३१ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार विकास बैंक सेक्टर बाहेक अरूमा राताम्मे देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १.९३ प्रतिशत बढेको छ । बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशतले घटेकाे छ । आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ आजदेखि बिक्री खुला, १० हजार कित्ता खरिद गर्न सकिने
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले आज फागुन २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई बिक्री गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा चैत ३ गते र यदि उक्त अवधिमा सेयर बिक्री नभएको खण्डमा आवेदन दिने समय चैत १२ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।