माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर खरिदका लागि २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसअनुसार २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएका छन् भने ८ हजार २८९ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो । त्यसअनुसार १ लाख २४ हजार ८९० जनाले प्रत्येकी १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँडफाँटपछि बाँकी रहेका ४ कित्ता पुनः गोलाप्रथामार्फत वितरण गर्दा ४ जनाले थप १–१ कित्ता पाएका छन् । यसरी कुल १ लाख २४ हजार ८९४ लगानीकर्ताले माबिलुङ्ग इनर्जीको सेयर प्राप्त गरेका छन् ।

एनएमबि सरल बचत फण्ड-इ को लाभांश घट्यो, भदौ ८ गतेदेखि बैंक खातामा जम्मा

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ को लाभांश घटेको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुका लागि ४.१८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यसअघि एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुलाई ४.२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सरल बचत फण्ड-इ को असारसम्म कायम इकाई पुँजी ३ अर्ब ३५ करोड ९१ लाख २१ हजार रुपैयाँको ४.२७ प्रतिशतका दरले १४ करोड ३४ लाख ३४ हजार ९४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  साथै, कम्पनीले उक्त फण्डका लागि लाभांश वितरण प्रयोजनार्थ साउन १५ गते इकाईधनी पुस्तीका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको थियो । साउन १५ गतेसम्ममा योजनाको इकाई पुँजी ३ अर्ब ४३ करोड ३ लाख २४ हजार रुपैयाँ रहेको हुँदा घोषित लाभांश रकम इकाई पुँजीको ४.१८ प्रतिशत रहने कम्पनीले जनाएको छ ।  साथै एनएमबि सरल बचत फण्ड-इ को डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी जनाउने इकाईधनीहरुको प्रतिफल रकममा प्रचलित कानून बमोजिम लागु हुने कर र इकाई खरिद गर्दा लाग्ने निर्धारित शुल्क कट्टी गरे पश्चात् साउन १५ गते समायोजित खुद सम्पत्ति मूल्य ११.२२ प्रति इकाईको आधारमा इकाई खरिद गरिने कम्पनीले जनाएको छ ।  हाल उक्त योजनाको आकार वृद्धिको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन गरिएको र उक्त आवेदन बमोजिम इकाई वृद्धिको स्वीकृती प्राप्त भए पश्चात् इकाईधनीहरुलाई डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लान अन्तर्गत इकाई खरिद गरिने कम्पनीले जनाएको छ । इकाई खरिद गर्दा बाँकी रहने रकम र डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकममा कानून बमोजिम लागू हुने कर कट्टी पश्चात् खुद रकम सम्बन्धित इकाईधनीको हित ग्राही खातामा उल्लेखित बैंक खातामा भदौ ८ गतेदेखि जम्मा गरिने कम्पनीले जनाएको छ । 

साढे १४ हजारले पाए सागर डिष्टिलरीको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । सागर डिष्टिलरीको आईपीओ बाँडफाँड गरिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर भदौ ६ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।  कम्पनीले साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४५ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो । उक्त सेयर खरिदका लागि आवेदन दिएका १४ हजार ५२० जनालाई सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओको नजिता बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेवसाइट, सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरेको आईपीओ रिजल्ट र मेरो सेयर मार्फत हेर्न सकिने जनाएको छ ।